नेपालीको शिर ननिहुरिने गरी काम गर्छु : मन्त्री आले

admin

काठमाडौं,२७ फागुन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाली नागरिकको शिर ननिहुरिने गरी काम गर्ने बताउनुभएको छ ।

नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको आज शुक्रवार काठमाण्डौमा आयोजना गरेको छैटौँ राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री आलेले यस्तो बताउनुभएको हो ।

आफू सधैँ नेपाली नागरिक र देशको हितमा काम गर्दै आएको र आफ्नो पद रहुन्जेलसम्म नागरिक र देशकै विकासका लागिपर्ने उहाँको भनाइ छ ।

‘म जति घण्टा, जति महिना र जति दिन मन्त्री पदमा रहन्छु, त्यत्ति नै समय म देश र नागरिकका हितका लागि नै काम गर्छु । देश र नागरिकबाहेक अन्य मेरा लागि ठूलो कुनै कुरै छैन’, उहाँले भन्नुभयो । मन्त्री आलेले दलित, जनजाति समुदायहरू विगतदेखि राज्यको उत्पीडनमा परेका हुनाले उनीहरूलाई माथि उकास्न आफू सधैँ कटिबद्ध रहेको बताउनुभयो ।

गरिबी, अशिक्षा तथा विकासको मूलधारबाट बाहिर परेका पश्चिमतिरका दलित समुदायको पीडा झन् दयनिय रहेको मन्त्री आलेको भनाइ थियो । कार्यक्रममा नेपाली साहित्यका माध्यमबाट जातीय विभेद तथा असमानताका विरुद्ध काम गर्ने तीन जनालाई सम्मान गरिएको थियो ।

कार्यक्रममै मन्त्री आलेले आर्थिक अवस्था नहुँदा पढाइबाट वञ्चित भएकी डोटीको शिखर नगरपालिका–१ कपल्लेकीकी बालिका चम्पा सार्कीलाई कक्षा १० देखि स्नातकसम्मको पढाइ खर्च आफूले बेहोरेको बताउनुभयो ।

प्रतिक्रिया