भोलि काठमाडौंदेखि दमक तथा धनकुटा टुँडिखेलसम्म ‘एकल म्याराथुन–२०७८’ हुँदै

admin

काठमाडौं,२९ फागुन : जनता समाजवादी पार्टी, नेपालको खेलकुद विभाग संघीय समाजवादी खेलकुद महासंघको आयोजनामा भोलि फागुन ३० गते (सोमबार) काठमाडौंको दशरथ रंगशालादेखि दमक तथा धनकुटा टुँडिखेलसम्म ‘एकल म्याराथुन–२०७८’ हुने भएको छ ।

महासंघले आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । ‘सबैका लागि खेलकुद हाम्रो अभियान, संघीयता सुशासन र संघीय समाजवाद राष्ट्रको पहिचान’ भन्ने सन्देश प्रवाह गर्दै,‘स्वास्थ्यको लागि दौड, राष्ट्रको लागि खेलकुद–२०७८’ भन्ने नाराका साथ एकल म्याराथुनको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । र, म्याराथनको सम्पूर्ण तयारी पूरा भएको पनि महासंघले जनाएको छ ।

कीर्तिमानी अन्तर्राष्ट्रिय म्याराथुन धावक बैकुण्ठ मानन्धर र कीर्तिमानी अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल धाविका मिरा राईको प्रमुख आतिथ्यतामा काठमाडौं दशरथ रंगशालादेखि धनकुटा टुँडिखेल तथा काठमाडौं दशरथ रंगशालादेखि दमकसम्मको एकल म्याराथुन दौड बिहान ७ बजे उद्घाटन गरिने बताइएको छ ।

खेलकुद क्षेत्रका विश्वव्यापी मूल्य र मान्यतालाई अंगीकार गर्दै र यो क्षेत्रको समग्र विकास र विस्तार गर्नका लागि खेलकुदमा अनुशासित जनशक्ति तयार गर्दै, जनजागरण पैदा गर्ने, रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने, शरीरका सबै अंगहरु चलायमान राख्ने र खेलकुदलाई जीवनको अभिन्न अंग बनाउने उद्देश्यका साथ कार्यक्रमको अयोजना गरिएको पनि महासंघद्धारा जारी पे्रस विज्ञप्तीमा प्रष्ट पारिएको छ ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष नेत्रबहादुर नेम्बाङले म्याराथुनको सम्पूर्ण तयारी पुरा भएको जनाए । लामो म्याराथुन भएको हुँदा अफ्ठ्यारो परे ‘रेसक्य’ू गर्ने टिम समेत तयार पारिएको उनले स्पष्ट पारे । यस्तै, उनले म्याराथुन गर्नेबारे गृह मन्त्रालयमा समेत जानकारी गराईसकेको बताए ।

कार्यक्रममा बोल्दै स्वास्थ्य विभाग प्रमुख डा.के.के. राईले खेलाडीहरुले गरेको आँटप्रति सम्मान व्यक्त गरेका थिए । उनले उक्त कार्यक्रमले स्वस्थ रहन पे्ररित गर्नुका साथै अबको समाज परिवर्तनको संवाहक युवा हौं भन्ने सन्देश दिनेपनि बताए ।

अबको नयाँ पुस्ता स्वस्थ रहनुपर्ने भन्दै त्यसमा म्याराथुनले टेवा पुर्याउने उनको भनाई छ । राईले यो संसारमा सबै कुरा सम्भव रहेको भन्दै काठमाडौंबाट दमक र धनकुटा पुग्ने आँट गरेका युवाहरुलाई सलाम गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै संघीय समाजवादी खेलकुद महासंघका महासचिव भरत अधिकारीले खेलाडीहरुलाई प्रोत्साहन र खेलको माध्यमबाट राष्ट्रलाई चिनाउनको लागि एकल म्याराथुनको आयोजना गरिएको धारणा राखेका थिए ।

प्रतिक्रिया