पूर्व-डीआईजी रमेश खरेलले दायर गरेको रिटमा अन्तरिम आदेशबारे छलफल

admin

काठमाडौं, २८ चैत: निर्वाचन चिह्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज अन्तरिम आदेश जारी हुने/नहुनेबारे छलफल हुँदैछ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा मुद्दाको पक्ष र विपक्षको सहभागितामा छलफल हुने भएको हो ।

मुद्दाको पक्ष पूर्व-डीआईजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीको तर्फबाट संविधानविद्समेत रहेका अधिवक्ता डा. भीमार्जुन आचार्य अन्तरिम आदेशबारेको छलफलमा सहभागी हुनेछन् ।

विपक्षीबाट महान्यायाधिवक्ताको कार्यालयका अधिकारीहरू सहभागी हुनेछन् ।

रिटमार्फत अध्यक्ष खरेलले आगामी तीन तहको निर्वाचनमा पार्टीको निर्वाचन चिह्न नै निर्वाचन आयोगबाट प्रयोग गर्न पाउनुपर्ने माग गरेका छन् ।

उनले ९ चैतमा रिट सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमाथि १३ चैतमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले रिटको प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गर्दै आज अन्तरिम आदेशबारे छलफलमा बोलाएका थिए ।

राष्ट्रिय पार्टी हुन नसकेका पार्टीहरूलाई निर्वाचन आयोगले पार्टीको निर्वाचन चिह्न नदिने प्रष्ट पारेपछि खरेल सर्वोच्च पुगेका हुन् ।

उनको पार्टी हालै गठन भएको हो । पहिलो पटक स्थानीय तह निर्वाचनमा सहभागी हुने उक्त पार्टीको तयारी छ । तर, संगठन देशव्यापी रूपमा विस्तार भएकै छैन ।

प्रतिक्रिया