चितुवाको आक्रमण, तीनजना घाइते

admin

काठमाडौं, १८ जेठ : गोरखाको पालुङटारमा चितुवा आतंक फैलिएको छ। मंगलबार साँझ करिब ७ बजे पालुङटार नगरपालिका ४ रानीटारमा स्थानीयसहित प्रहरीलाई पटक-पटक चितुवाले आक्रमण गरेपछि स्थानीयमा त्रास फैलिएको हो।

चितुवाको आक्रमणमा परी एक प्रहरीसहित तीनजना घाइते भएको गोरखाका डीएसपी लिलाराज लामिछानेले थाहाखबरलाई जानकारी दिए।

चितुवाको आक्रमणबाट रानीटारका ४४ वर्षका केशरबहादुर नेपाली, १६ वर्षका अभिषेक भण्डारी र प्रहरी सहायक हवल्दार सुनिल रायमाझी घाइते भएका छन्।

डीएसपी लामिछानेका अनुसार नेपालीको ढाडमा र भण्डारीको तिघ्रामा सामान्य चोट लागेको छ। प्रहरी सहायक हवल्दार रायमाझीलाई पनि सामान्य चोट लागेको छ। घाइते तीनै जना स्थानीय मेडिकलमा सामान्य उपचारपछि घर फर्किएका छन्।

डीएसपी लामिछानेका अनुसार बारीमा काम गरिरहेका स्थानीय दुई जनालाई चितुवाले आक्रमण गरेको थियो।

लगत्तै सुरक्षाको लागि खटिएका टोलीले गाउँलेलाई जनचेतना दिन भेला भएको स्थानमा नै प्रहरीलाई पछाडिबाट आक्रमण गरेको डीएसपी लामिछानेले बताए।

‘झाडीमा लुकेर बसेको रहेछ’,उनले भने, ‘सचेत रहन र लाइट बालेर बस्न सर्वसाधारणलाई आग्रह गर्दै गर्दा पछाडिबाट आक्रमण गरेको हो।’

दुवैपटक आक्रमण गर्ने चितुवा एउटै भएको हुनसक्ने प्रहरीको अनुमान छ। इलाका प्रहरी कार्यालय पालुङटारले आसपास क्षेत्रका स्थानीयलाई सतर्क रहन र चितुवा देखिए तत्काल प्रहरीलाई सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया