पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रिने विद्यार्थी संगठनको चेतावनी

admin

काठमाडौं, ६ असार : सरकारले आम उपभोक्ताको ढाड सेक्नेगरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै विभिन्न सरोकारवाला पक्षले विरोध जनाएका छन् । उनीहरुले तत्काल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने पनि माग गरेका छन् ।


आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले ‘पेट्रोलियम पदार्थ र दैनिक उपभोगय वस्तुलगायतमा भैरहेको निरन्तरको मुल्यबृद्धि र आमजनस्तरमा यसको प्रभावको विषयमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै विद्यार्थी संगठनका नेताहरु, यातायात व्यवसायी र उपभोक्ता अधिकारकर्मीहरुले सरकारले जनतालाई मार्नेगरि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै विरोध जनाएका हुन् । उनीहरुले तत्काल मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रिने पनि चेतावनी दिएका छन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष विजय स्वाँरले पेट्रोलियम पदार्थको मुल्यवृद्धिले सार्वजनिक यातायात चल्न नसक्ने अवस्थामा पुगेको टिप्पणी गरे । उनले आफुहरु गाडी व्यवसायीमात्र नभएर त्योभन्दा पहिला नागरिक भएको बताउँदै पेट्रोलियम पदार्थको मुल्यवृद्धिले सार्वजनिक यातायातमा धेरै नै असर गरेको गुनासो पोखे ।

उनले भने,‘पैसा हुनेहरु आ–आफ्नै सवारीसाधनमा चढ्छन्, तर विद्यार्थी र न्युन आय भएकाहरु सार्वजनिक यातायातमा चढ्नुपर्ने बाध्यता छ । विद्यार्थी र ती सामान्य नागरिकको लागि सरकारले राहतको प्याकेज ल्याउनुपर्छ ।’

विश्वभर सार्वजनिक यातायातमा सरकारको लगानी हुने भन्दै नेपालमा भने सरकारको तर्फबाट कुनै लगानी नभएको उनको टिप्पणी छ । उनले नयाँ गाडी आयात हुने अवस्था नभएको र पुरानो गाडी पनि चलाउन नसक्ने अवस्थामा व्यवसायी पुगेको टिप्पणी गरे । गाडी भाडाभन्दा पनि सर्वत्र मुल्यवृद्धिले नागरिकको जीवनयापनमा समस्या भएको उनको गुनासो छ ।

सार्वजनिक यातायाताको भाडा बढेपछि अरुको नबढ्ने भन्दै उनले अन्यमा भाडा बढेमात्र सार्वजनिक यातायातको भाडा बढ्ने स्पष्ट पारे । निजी क्षेत्रका सबै व्यवसायीहरु एकजुट भएर लड्नुपर्ने दिन आएको भन्दै अब यातायात व्यवसायी र विद्यार्थीहरु पनि मिलेर पेट्रोलियम पदार्थको मुल्यवृद्धिलाई राष्ट्रिय समस्याको रुपमा लिएर यसको दीर्घकालिन समाधानतर्फ लाग्नुपर्ने बताए ।

सडकमा आन्दोलन गरेर कुनै अर्थ नभएको भन्दै उनले सरकारले राहत प्याकेज दिनुपर्ने बताए । त्यस्तै, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आफूले विगत ४० वर्षदेखि उपभोक्ता अधिकारकै क्षेत्रमा निरन्तर काम गरेको उल्लेख गर्दै पछिल्लो समयमा बढेको महँगी सबैभन्दा बढि भएको दाबी गरेका छन् । विद्यार्थीहरुले गर्दै आएको आन्दोलन आजसम्म राजनीतिक फाइदाको लागिमात्र भएको उनको टिप्पणी छ ।

यसअघि २०७६ सालमा विश्वभरनै पेट्रोलियम पदार्थको मुल्य धेरै नै घटेको स्मरण गर्दै नेपालमा भने त्यतिवेला मूल्य नघटाईएको उनले स्मरण गराए । उनले त्यतिवेला नेपालका कुनैपनि विद्यार्थी संगठनले आन्दोलन वा विरोध नगरेको पनि दाबी गरे ।

उनले पेट्रोलियम पदार्थको मुल्यवृद्धि युक्रेनको कारण नभइ सरकारको कारणले भएको आरोप लगाए । उनले भने,‘सरकारको निकम्मापन र अदुरदर्शिता नीतिले गर्दा आज पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएको हो ।’ उनले विश्वमै सबैभन्दा बढी पेट्रोलियम पदार्थमा कर र शुल्क लिने देश नेपाल भएकोसमेत टिप्पणी गरे । उनले भने,‘१ लिटर पेट्रोलियम पदार्थमा १०४ प्रतिशतसम्म कर असुल्दा पनि कुनै राजनीतिक दल र कुनै पनि भातृ संगठनले बोल्न सक्दैनन् ।’

यातायात व्यवसायीले आज नै भाडा बढाएर खुशी भएको भन्दै उनले जिविका गरेर खाने जनतालाई मुल्यवृद्धिमा समस्या सुरु भएको बताए । नेपालमा पछिल्लो समयमा रोजगारीको समस्या र आम्दानी कमी भईरहेको तर महंगी बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गरे ।

कमाईको आम्दानी नबढेको अवस्थामा गाडी भाडा बढेपछि सामान्य नागरिक समस्यामा परेको उनको बुझाई छ । पेट्रोलियम पदार्थको मुल्य बढेपछि सबैको मुल्य बढ्ने उनले तर्क गरे । उनले अहिले दुई÷चार जना व्यापारिक घरानाले देशलाई नै आफ्नो हातमा लिएको टिप्पणी गरे । व्यापारीकै कारण राजनीतिमा लामो त्याग र तपस्या गरेकाहरुलाई सम्मान नगरेर दलहरुले अहिले पैसा हुनेलाई प्रश्रय दिएको र लाभको पदमा पुर्याएको पनि उनले गुनासो पोखे । पैसाकै कारण व्यापारीहरुले सरकारको मुखमा बुझो लगाइदिएको उनले जिकिर गरे ।

भारतले आफ्ना नागरिकलाई आपुर्ति व्यवस्था सहज गर्न भन्सार महसुल मिनाहा गरेको स्मरण गराउँदै नेपाल सरकारले भने अहिलेसम्म त्यसो गर्न नसकेकोमा आपक्ति जनाए । सरकार व्यापारिक घरानाको पोल्टामा परेको हुनाले जनता अत्यन्तै दमित÷शोषित भएको उनको भनाई छ ।

पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्धको विद्यार्थीहरुको आन्दोलनमा आफूहरुको कुनै सहभागिता नरहने पनि उनले स्पष्ट पारे । विद्यार्थीहरुले आफ्नो राजनीतिक स्वार्थ र दुनो सोझ्याउनको लागिमात्रै आन्दोलनको नाटक गरेको उनको आरोप छ । जनताले अहिले भोगेका समस्या र उनीहरुको पीडाको आवाज सरकारले नसुने अब नेपालको हालत पनि श्रीलंकाजस्तै बन्ने उनको चेतावनी छ ।

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष नरेश रेग्मीले पेट्रोलियम पदार्थको मुल्य बढ्दा जनताको जीवनमा प्रत्यक्ष असर परेको बताए । पेट्रोलियम पदार्थको चर्को मुल्यवृद्धिले जनता आत्तिएको भन्दै उनले यसले देशमा आर्थिक संकट आएको समेत टिप्पणी गरे ।

अन्तर्राष्ट्रिय पेट्रोलियप पदार्थको मूल्यवृद्धिलाई समायोजन गरेको भन्दै सरकार पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट उम्किन नपाउने जिकिर गर्दै रेग्मीले सरकारले केही कर हटाएर भएपनि पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल घटाउनुपर्ने बताए ।

पेट्रोलियम पदार्थको मुल्यवृद्धि अन्तर्राष्ट्रियस्तरमै बढिरहेको भन्दै उनले सरकारले विभिन्न कर घटाएर भएपनि जनतालाई राहत दिनुपर्ने बताए ।
उनले पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध अनेरास्वविय क्रान्तिकारी सडकमा आउनेपनि प्रतिवद्धता जाहेर गरे । उनले भने,‘जब जब पेट्रोलियम पदार्थलगायत सबै कुराको मुल्यवृद्धि हुन्छ, तब तब अनेरास्वविय क्रान्तिकारी सधैं जनता र विद्यार्थीको लागि सडकमा उत्रिन्छ ।’

पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध चाँडै नै आफ्नो संगठन सडकमा आउने उनको भनाई छ । उनले भने,‘अब हामी चाँडै आन्दोलनमा आउँछौ, सरकारलाई दबाब दिन्छौं । सबै सरकारमा सहभागी सबै दुलका शीर्ष नेताहरुलाई ध्यानाकर्षण गराउँछौ ।’ उनले सरकारलाई पेट्रोलको वैकल्पिक उर्जा, बिजुली र सोलारको विकल्पबारे पनि रचनात्मक सुझाव दिने उनले बताए ।

विद्यार्थी आन्दोलन जोशमा मात्र गरिने नभएको भन्दै उपाध्यक्ष रेग्मीले पेट्रोलियम पदार्थको मुल्यवृद्धि रोक्ने दीर्घकालिन समाधानका उपायबारे विद्यार्थीहरुले पनि सोचिरहेको सुनाए ।

यसैगरी, अनेरास्ववियुका महासचिव समिप बडालले पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध आन्दोलन गर्ने बताए । तर, अहिले देशमा सरकार नै नभएको महसुस जनताले गरिरहेको पनि उनको टिप्पणी छ ।

उनले सरकार खोज्न पनि सडकमा आउने बताए । सरकारले जनताप्रति कुनै चासो नदिएको आरोप लगाउँदै उनले अब जनतालाई पेट्रोलियम पदार्थमासरकारले राहत दिनुपर्ने माग गरे ।

उनले अहिलेसम्म जनतालाई जगाउनकै निम्ति विद्यार्थीहरुले काम गर्दै आएको पनि स्मरण गराए । उनले भने,‘विगत १ महिनाभित्र ५९ रुपैयाँ इन्धनमा मुल्य बढेको छ। इन्धनसँगै अन्य सामाग्रीको मुल्य पनि बढेको छ, सरकार जनताप्रति कत्तिपनि संवेदनशील र उत्तरदायी छैन् । जनताको कुरा नसुन्ने सरकार जनतालाई चाहिँदैन् ।’

उनले पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध अनेरास्ववियुले सबै पक्षलाई समेटेर अभियान नै चलाउने पनि प्रतिबद्धता जाहेर गरे । साथै, उनले संयुक्त विद्यार्थी संगठनले पनि यो विषयलाई साझा एजेण्डा बनाउने स्पष्ट पारे ।

 

 

प्रतिक्रिया