सरकारले झनै राष्ट्रघाती विद्येयक ल्याउन खोजेको भन्दै देशभक्त राजनीतिक पार्टी समूहहरुले दिए आन्दोलन गर्ने चेतावनी

admin

काठमाडौं, २६ असार : देशभक्त राजनीतिक पार्टी र समूहहरुले सरकारले नागरिकतासम्बन्धी विद्येयक संसद्बाट फिर्ता लिएको र त्योभन्दापनि राष्ट्रघाती विद्येयक ल्याउन लागेको भन्दै राष्ट्रघाती विद्येयक ल्याए त्यसको विरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

 


आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा देशभक्त राजनीतिक पार्टी र समूहहरुले राष्ट्रघाती नागरिकता नीतिका सम्बन्धमा संयुक्त विरोध–सभाको आयोजना गरेर यस्तो चेतानवी दिएका हुन् । कार्यक्रममा बोल्दै नेकपा (माले) का महासचिव तथा पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले नागरिकता नीति राष्ट्रघाती रहेको गुनासो पोखे ।

उनले अहिले नागरिकतासम्बन्धी विद्येयक फिर्ता लिएको र त्योभन्दापनि खराब नीति आउने हो कि भन्ने आशंका रहेको सुनाए । उनले भने,‘अब कस्तो विद्येयक आउँछ, त्यो त दर्ता गरेपछि थाहा हुन्छ ।’ उनले २००७ सालको परिवर्तनदेखि यता पटक–पटक नागरिकता नीति परिवर्तन हुँदै आएको स्मरण गराए ।

उनले मुलुकमा नागरिकतासम्बन्धी धेरै आयोग पनि बनेको उल्लेख गर्दै त्यसबाट धेरै नागरिकता बाँडिएको सुनाए । उनले भने,‘त्यतिवेला पाउनुपर्नेले पनि पाए । नपाउनुपर्नेले पनि पाए ।

२०६३ सालको बैशाख १० गते जनआन्दोलनमा प्रारिम्भक विजय प्राप्त गरेपछि २०६३ मै नागरिकता ऐन बनाईएको थियो । त्यही ऐनलाई २०७५ सालको साउनमा संशोधन गर्ने विद्येयक आएको थियो । अस्ति संसद्मा सरकारले त्यो फिर्ता लिएको छ । अरु गलत कुरालाई ईन्ट्रोड्युस गर्न नयाँ विद्येयक आउनेवाला छ ।’

उनले नेपालमा नागरिकताको सम्बन्धमा लिईएको नीति राष्ट्रघाती रहेको सुनाए । उनले ०४६ पछि आउनेहरुले कागज मिलाएर नागरिकता बनाएको पनि दाबी गरे । उनले भने,‘किर्ते नागरिकता लिएका छन् ।

भारतका विहारका जिल्लाबाट यहाँ नेपालकी नागरिकता मिल्ती हे भनेर बोर्ड टाँसिएको थियो । भारतमा दाईजो प्रथा छ । नेपालको नागरिकता भएकी केटी विवाह गर्दा भारतका युवाले बिना तिलक विवाह गर्छन् ।’

उनले किर्ते नागरिकताको खोजी गरेर खारेज गर्नुपर्ने माग गरे । उनले भने,‘बास्तविक नागरिकलाई नागरिकता दिनेगरि काम गर्नुपर्छ । उच्चस्तरीय नागरिकता छानबिन न्यायिक आयोग बनोस भनेर ०७५मा पनि आवाज उठाएका थियौं ।

अहिलेपनि यो माग जिउँदो नै छ । कांग्रेसजस्तो लम्पसरवादी दलले गलत नीति लियो । देशको सार्वभौमसत्तालाई शीरमा राख्नुपर्छ । अस्ति विद्येयक फिर्ता गरेको छ । अहिले देश हरेक हिसाबले संकटमा परेको छ । अर्थतन्त्र धराशयी बनेको छ । देश थला परेको छ । नागरिकता ऐनका खराब प्रावधानको विरुद्धमा आन्दोलन गर्नुपर्छ ।’

त्यस्तै, त्रिमूल नेपाल पार्टीका सचिवालय सदस्य रामबहादुर थापाले नेपालका पार्टीमा समस्या रहेको सुनाए । उनले देशको लागि केही गर्नुपर्छ भन्ने नेता नै नभएको जिकिर गरे ।

उनले पनि गलत प्रावधानसहित आउने नागरिकता विद्येयकको आफूहरुले विरोध गर्ने र त्यसको खारेजीको लागि लागिपर्ने सुनाए ।
संयुक्त जनआन्दोलन मोर्चाका राष्ट्रिय संयोजक शेखरजंग रायमाझीले नेपालको भूगोल सानो रहेको र भूगोलभन्दा नागरिक धेरै भएकोले नागरिकता नीति कठोर हुनुपर्नेमा जोड दिए ।

उनले भने,‘हाम्रो नागरिकता नीति कठोर हुनुपर्छ । प्रत्येक १० वर्षमा नागरिकता प्रावधान बदल्ने काम भएका छन्, यो गलत हो । यो मुलुकको लागि खतरानक परम्परा हो । हाम्रो देशका नेताको कुरा गर्दा, जसलाई समातेर छानबिन गर्नुहोस, ती सबै भ्रष्ट निस्किन्छन् । नेताहरुबाट देश लुट्ने काममात्रै भएको छ । देश ठूलो ऋणमा छ । अहिले ९ खर्बको ऋणको हिसाब देखार्यदिनुहोस, म आत्मदाह गर्छु । यस्तो लुट भैरहेको छ । यो दुर्भाग्यपूर्ण अवस्था छ । गोलमेच सम्मेलन आजको आवश्यकत्ता हो ।’

नेकपाका मसलाका विशेष महाधिवेशन आयोजक समितिका सचिवालय प्रतिनिधि तथा राष्ट्रिय जनमोर्चा समन्वय समितिको सचिवालय सदस्य नारायण सापकोटाले देशलाई आघात पुग्नेगरि विद्येयक ल्याउन खोज्नु खेदजनक रहेको टिप्पणी गरे ।

उनले भारतसँग नेपालको तीन तिरको खुला सिमाना रहेको उल्लेख गर्दै नागरिकतासम्बन्धी प्रावधान राख्दा अलिक गम्भीर हुनुपर्नेमा जोड द्यिए । उनले भने,‘बास्तविक नेपालीले नागरिकता पाउनुपर्छ । विदेशीले सजिलै पाउनेगरि नागरिता विद्येयक ल्याउनु आपत्तिजनक छ ।

श्रीलंकामा जसरी शासकले देशको सम्पत्तिलाई निजी सम्पत्ति बनाउँदा अहिले जनताले तिनीहरुलाई खेदेका छन् । नेपालमापनि शासक नसुध्रिए जनतलो खेद्नुपर्छ ।’

देशभक्त महिला अभियान समूहको तर्फबाट बोल्दै तारा बरालले अहिलेको समस्या समाधानको लागि पहिले व्यवस्था नै परिवर्तन गर्नुपर्नेमा जोड दिईन् । उनले आफूहरुले भोट दिएर जिताएका प्रतिनिधिहरुले नै गलत काम गरेको गुनासो पोखिन् ।

उनले भनिन्–‘हाम्रो भोट नेताले गलत रुपमा प्रयोग गरे । अहिलेको व्यवस्थाले निम्त्याएको अवस्था हो । संविधान नै खोटी छ । यही व्यवस्था र संविधान मान्ने हो भने समस्या आईरहन्छन् ।’

नेकपा अध्यक्ष लोकनारायण सुवेदीले नागरिकतासम्बन्धी विद्येयक फिर्ता गरेर फेरि ल्याउन खोजिएकोमा आपत्ति जनाउँदै अब आउने विद्येयक नेपालको हितमा नरहेको जिकिर गरे ।

उनले नेपालमा अमेरिका र भारतको मिलेमतोमा समस्या खडा भैरहेको पनि गम्भीर आरोप लगाए । उनले नेपालमा नागरिकताको समस्या सितिमिती हल नहुने जिकिर गरे । उनले नागरिकता विद्येयकविरुद्ध आन्दोलन जारी राख्नुपर्छ भन्ने पनि माग राखे ।

नागरिकता अध्ययन कार्यदलका सहसंयोजक नारायण शर्माले नागरिकता विद्येयक फिर्ता लिने र नयाँ पठाउने भन्ने निर्णयमा नै आफूले प्रतिगामी र खोट देखेको टिप्पणी गरे ।

उनले राज्यको सम्बन्ध कोसँग हुनुपर्छ र कस्तो हुनुपर्छ भन्ने व्याख्या ठीक ढंगले गर्नुपर्ने जोड दिए । उनले भने,‘नपाल अब फिजीकरण हुने खतरा छ । लामो समयदेखि नेरुको पालादेखि नेपालको सिमानामा उत्तरमा हिमालयसम्म हो भनेर भनिराख्ने उनीहरुको गलत नियत छ, भारतीय शासकले यही कुरा डिल गरिरहेका छन् । नेपालमा भाँडभैलो र अस्थिरता सिर्जना गरेको छ। नेपालको अस्तित्व समाप्त पार्ने षड्यन्त्र हुँदैछ ।’

देशविरुद्ध हुने सबैखाले षड्यन्त्रको अब सबैले एक भएर प्रतिवाद गर्नुपर्नेमा उनको जोड छ । उनले भने,‘भारतबाट विवाह गरेर आउने महिलालाई एकतर्फ माँगमा सिन्दुर र अर्को हातमा नागरिकता दिने षड्यन्त्र भैरहेको छ । गठबन्धनका चार दलका सबै नेताहरुको सहमतिमा गलत काम गर्न खोजिएको छ ।’
नेपालवाद पार्टीका अध्यक्ष किरण शर्माले आफ्नो पार्टीको मूल मुद्दा नै राष्ट्रियता भएको उल्लेख गर्दै राष्ट्रवाद र देशभक्तको नाममा कांग्रेस र कम्युनिष्टहरुले नक्कली नाँच देखाएको टिप्पणी गरे ।

उनले भने,‘नेपाल र भारतबीचको सिमाना बन्द गर्नुपर्छ । नेपालमा अनियन्त्रित रूपमा वितरण गरिएको नागरिकता खारेजी गर्नुपर्छ । हामी छायाँमा परेका थियौं । देशभक्तहरुको मात्रै बलियो राजनीतिक शक्ति निर्माण गर्नुपर्छ ।’

त्यस्तै, नेकपा संयुक्तका सचिवालय सदस्य मधु बिसीले नागरिकतासम्बन्धी विद्येयक खुकुलो बनाईयो भने मुलुक फिजीकरण हुने निश्चित् रहेको खतरा औंल्याएका छन् ।

उनले अब संसद्मा रहेका सबै दलका सदस्यहरु २७५ जना सांसदकहाँ गएर देशको अहितमा रहेको नागरिकतासम्बन्धी विद्येयक फिर्ता लिन दबाब दिनुपर्ने धारणा राखे । उनले भने,‘बरु, उनीहरुको परिवारलाई चेतावनी दिनुपर्छ । सबैभन्दा पहिले २७५ सांसदहरुलाई ठीक पार्नुपर्छ ।’

यस्तै, सर्वहारा कम्युनिष्ट पार्टी माओवादीकी अध्यक्ष भावना विद्रोहीले नागरिकता विद्येयकमा ठूलो राष्ट्रघात रहेको भन्दै अब आउने विद्येयक देशको हितमा नभए आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिईन् ।

जनसमाजवादी पार्टीका उपमहासचिव डम्बरविक्रम कार्कीले समग्रमा नेपालमा नागरिकता नीति नै गलत रहेको कुरा उल्लेख गरे । उनले भने,‘घातक त नागरिकता नीति हो । नागरिकता नीति खुकुलो बनाउने हो भने देश चलाउन सक्दैनौं । सांसदहरुले गम्भीर घात गर्दा फेरि उहाँहरुलाई नेता बनाउने हो भने हाम्रो पनि गल्ती हुनेछ ।’

उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले संसारमा नेपालमा मात्रै नागरिकता प्रदान नगरिएर वितरण गर्ने गरिएको यथार्थ सुनाए । उनले भने,‘नेपाल यस्तो देश हो, जहाँ नागरिकता प्रदानभन्दापनि वितरण गरिन्छ । नामै नागरिकता वितरण टोली रािखएको छ । सरकार आँफै तिमीलाई नागरिकता चाहिएको छ ? भन्दै खोजेर हिँड्छ । ड्राईभिङ लाइसेन्सभन्दा सजिलोगरि नेपालमा नागरिकता पाईन्छ।’

उनले देशको विरुद्धमा रहेको नागरिकता विद्येयकको विरोधीलाई जिताउनुपर्ने र यही नै समाधान हुने सुनाए । उनले भने,‘राष्ट्रघाती नागरिकता विद्येयकका विरोधी, एमसिसीका विरोधीलाई मात्रै मतदान गर्नुहोस । यसको तत्कालिक उपचार यही हो । यसरी जितेर आउनेले यी प्रावधान र विद्येयक संसद्मा जलाउँछन् ।’
नेकपा (एकीकृत माओवादी) का महासचिव माणिक लामाले भारतसँगका असमान सन्धि पूर्ण रुपमा खारेज हुनुपर्नेमा जोड दिए ।

उनले भने,‘गलत नागरिकता प्रावधान राखियो भने भोलि नेपालमा भारतीय मूलका मान्छेमार्फत प्रशस्त, युपी र विहारका मान्छेमात्रै आउँदा हामी अल्पमतमा पर्छौं । जनमतसंग्रहमार्फत देशलाई विखण्डन गर्ने गम्भीर षठड्यन्त्र छ । यो व्यवस्थाबाट कुनैपनि नागरिकतासम्बन्धी समस्या समाधान हुन सक्दैन् ।’
लामाले अहिलेको संसदीय व्यवस्थाविरुद्ध आफूहरुले बल प्रयोगको सिद्धान्त अपनाउनुपर्ने र संविधान ध्वस्त पार्नुपर्ने सुनाए । उनल भने,‘पहिले देश रहनुपर्छ । सेभ द नेशन फस्ट ।’

नेपाल कम्इुनिष्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढाले पनि नागरिकता विद्येयकविरुद्ध हुने सभा र आन्दोलनमा आफ्नो पार्टीको एक्येबद्धता रहेको सुनाए ।
उनले राष्ट्रघातको विरुद्ध हुने सबै कदमको विरुद्ध आफूहरु जस्तोसुकै कदम पनि चाल्न तयार रहेको सुनाए ।

वृषवृक्षबाट अमृतको फलको आशा गर्नु असम्भव हुने भन्दै अहिलेको राज्य र व्यवस्था विषवृक्षजस्तो रहेको उनको टिप्पणी छ । उनले भने,‘हाम्रो राज्यसत्ता दलाल छ । नागरिकतासम्बन्धी जुन नीति लिईएको छ, त्यो पनि दलालीतन्त्रको चरम नमूना हो । अब सबै देशभक्तहरु सडकमा आउनुपर्छ ।’

कार्यक्रमको सभापतित्व भने पुष्पलाल अध्ययन प्रतिष्ठानका अध्यक्ष लोककृष्ण भट्टराईले गरेका थिए । उनले अहिले आफूहरु नागरिकतासम्बन्धी विद्येयक राष्ट्रघात भयो भनेर विरोधसभामा उभिएको भन्दै अहिले देशको व्यवस्थाको कुरा उठाउनु गलत हुने भन्दै यसअघिका वक्ताहरुसँग असहमति राखे । उनले भने,‘दलको विरुद्ध दल नै हुन्छ । राम्रो दल हुन्छ । पाँच दलले पो नराम्रो काम गरे । अर्को संविधान बन्ला, तर पूरानो बन्दैन् । झनै जनपक्षीय होला ।’

प्रतिक्रिया