बदनाम बन्दै मुलुककै जेठो विश्वविद्यालय

admin

काठमाडौं, असार ३१ : देशकै जेठो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो प्रतिष्ठा र विश्वास बढाउँदै लैजानुपर्नेमा उल्टै बदनामी कमाउन थालेको छ ।

प्रधानमन्त्री कुलपति रहने त्रिविमा पछिल्लो दिन गम्भीर प्रकारका गल्ती दोहोरिनेक्रम बढेका छन् । प्रश्नपत्र गत वर्षको हुबहु हुने, परीक्षाफल समयमै प्रकाशन नहुने, ढिलासुस्ती तथा अनियमिततालगायत कारण जेठो विश्वविद्यालयको प्रतिष्ठा र विश्वासमाथि प्रश्न उठ्न थालेको छ ।

त्रिविले गत १८ जेठमा लिएको मानविकी संकाय स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत पब्लिक इकोनोमिक्स र २३ जेठमा स्नातकोत्तर तहको राजनीतिशास्त्र पहिलो सेमेस्टारको इन्टरनेसनल पोलिटिक्स विषयको प्रश्नपत्र अघिल्लो वर्षसँग हुबहु मिलेको थियो । ६० पूर्णांकको परीक्षामा १३ प्रश्न अघिल्ला दुई वर्षको हुबहु मिलेको होे ।

– हुबहु प्रश्नपत्र पटकपटक दोहोरिँदै

– वर्ष बित्दासमेत प्रकाशन हुँदैन परीक्षाफल

– सामान्य काममा घण्टौं लाइन बस्नुपर्ने बाध्यता

त्रिविले हुबहु प्रश्नपत्र दोहोरिएको’bout छानबिन समिति गठन गरेर अनुसन्धान गरिरहेको अवस्थामा अर्को विषयको पनि प्रश्नपत्र हुबहु दोहोरियो । त्रिविले विज्ञ समूहलाई प्रश्नपत्र बनाउन लगाउने गरेको छ । तर, प्रश्नपत्र भने हुबहु दोहोरिने गरिएको छ । यस घटनाप्रति त्रिविको चर्को आलोचनासमेत भएको छ ।

त्रिविअन्तर्गतकै बीबीए छैटौं सेमेस्टर नेपाली राजनीति र समाज विषयको प्रश्नपत्रमा पनि गम्भीर लापरबाही पाइयो । असार अन्तिम साता भएको परीक्षामा पाँचौं सेमेस्टरको समाजशास्त्र विषयको प्रश्न राखेर प्रश्नावली बाँडिएपछि विवादित बन्यो ।

त्रिविमा यो वर्ष मात्रै झन्डै डेढ सय दिन ताला लागेको छ । सरकारको नेतृत्व गरिरहेको पार्टीनिकट नेपाल विद्यार्थी संघले त्रिवि उपकुलपति, रजिस्ट्रार र शिक्षाध्यक्ष कार्यालयमा ताला लगाएको हो ।

कर्मचारी संघसंगठनले पनि त्रिविमा तालाबन्दी गरे । विश्वविद्यालय कार्यकारी परिषद्ले युथ क्याम्पस जनकपुरलाई बीसीए (ब्याचलर अफ कम्प्युटर एप्लिकेसन) कार्यक्रम सञ्चालनका लागि दिएको सम्बन्धन खारेज गरेपछि नेविसंघ तालाबन्दीमा उत्रियो । लामो समय तालाबन्दी हुँदासमेत खुलाउन नसकेको तथा सम्बन्धित निकायले चासो नदेखाएको पाइयो ।

त्रिविले समयमै परीक्षाफल प्रकाशित नगरेका कारण पनि त्रिविप्रतिको विश्वास घट्दो मात्रामा रहेको पाइएको छ । त्रिविले लिएको परीक्षा सम्पन्न भएको वर्ष दिन बित्दासमेत कतिपय विषयको परीक्षाफल प्रकाशित नहुने गरेको छ ।

समयमै परीक्षाफल प्रकाशित गर्न त्रिवि असफल देखिएको छ भने विद्यार्थीले त्यसको चर्को विरोध गर्ने गरेका छन् ।

परीक्षाफल प्रकाशनमा मात्र नभएर त्रिविले दिने सेवासुविधामा ढिलासुस्ती हुने गरेको विद्यार्थी गुनासो गर्छन् । सामान्य काममा लागि पनि घण्टौं लाइनमा बस्नुपर्ने बाध्यतामा विद्यार्थी छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया