४ मंसिरमा चुनाव गर्ने गठबन्धन दलहरुबीच सहमति

admin

काठमाडौँ, साउन १९ : सत्ता गठबन्धनमा आबद्ध पाँच दल आगामी ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निष्कर्षमा पुगेका छन् ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध पाँच दलको बैठकले अगामी ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले भने गत २२ असारमा नै २ मंसिरमा निर्वाचन गर्नेगरी सरकारसमक्ष निर्वाचनको मिति प्रस्ताव गरेको थियो ।

मिति आजै घोषणा हुने सम्भावना
गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ४ मंसिरमा निर्वाचन गर्ने सहमति गठबन्धन आबद्ध दलबीच बनेको जानकारी दिए । ‘४ मंसिरमा निर्वाचन गर्ने सहमति भएको छ, अब मन्त्रिपरिषद् बैठकले मिति तोक्छ,’ बैठकपछि कांग्रेस वरिष्ठ नेता पौडेलले राजधानीसँग भने ।

निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानुनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ ।

बालुवाटार स्रोतका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने सम्भावना छ । निर्वाचन आयोगले निर्वाचनका लागि तयारी गर्न १ सय २० दिनको समय आवश्यक पर्ने बताउँदै आएको छ ।

यसअघि संसद्को चालू अधिवेशन समापन गरेर मात्रै निर्वाचनको मिति तोक्ने विषयमा गठबन्धनभित्र अलमल देखिँदै आएको थियो ।

यस्तै, सरकारमा रिक्त रहेका अर्थ मन्त्रीका कारण पनि निर्वाचनको मिति घोषणामा अलमल भएको थियो ।

आयोगले देशभर एकै दिन एकै चरणमा १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न गर्नेगरी रणनीति बनाउँदै आएको छ ।

आयोगले निर्वाचनका लागि १० अर्ब खर्च हुन सक्ने भन्दै सरकारसमक्ष प्रारम्भिक खर्चको विवरणसमेत बुझाइसकेको छ ।

२०७४ मा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय ७७ र निर्वाचन अधिकृतको कार्यालय १ सय ६५ समेत गरी ७ अर्ब ८० करोड खर्च भएको थियो ।

आयोगले हाल देशभर मतदाता नामावली संकलनको काम गरिरहेको छ । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार देशका ७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता जारी छ । निर्वाचनको मिति घोषणा भएपछि भने नामावली दर्ता रोकिने कानुन छ ।

आयोगका अनुसार ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनअघि दर्ता भएका कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम आयोगमा दर्ता छ ।

जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता रहेको आयोगले बताएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया