आज गणेश चौथी मनाइँदै

admin

काठमार्डौं, भदौ १५ : आज गणेश चौथी । भगवान गणेशको विशेष पूजा आराधनासहित गणेश चौथी मनाइँदैछ ।

हरेक वर्ष भाद्र शुक्ल चतुर्थी तिथिका दिनलाई गणेश चौथीको नाममा वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीरुले मनाउने गर्छन् ।

आज देशभरका गणेश मन्दिरमा विशेष मेला लाग्छ । उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायकसहित कमलादी गणेशको मन्दिरमा विशेष पूजासहित भक्तजनको भीड लागेको छ ।

गणेशलाई लड्डु (मोदक) चढाएर आफ्नो मनोकामना पूरा हुने विश्वास अनुसार अधिकांश गणेश मन्दिरमा भक्तजन लड्डु बोकेर पुगेका छन् । कुनैप नि धार्मिक कार्य शुरु गर्नुअघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ ।

आजैका दिन गणेशको जन्म भएको शिवपुराणमा उल्लेख छ । हरितालिका तीजको भोलिपल्ट गणेश चौथी मनाउने गरिन्छ । तीजमा व्रत बसेका महिलाले गणेश चौथीमा बिहानै गणेशको पूजा गरी दिनभर नाचगान र व्रत बस्ने गर्छन् ।

यसदिन कसैको हानि नोक्सानी पुर्‍याए त्यसको पाप नलाग्ने विश्वास गरिन्छ । भोलि (बिहीबार) ऋषिपञ्चमी पर्व मनाइएपछि तीज औपचारिक रुपमा समापन हुन्छ । गणेश चौथीको दिन नेवार समुदायले भने चथा पर्व मनाउँदैछन् ।

आज बेलुका चन्द्रमालाई पूजा गरेर यो पर्व मनाइने गरिन्छ । चन्द्रमालाई आज चोर देवताका रुपमा पूजा गरिन्छ । कमलको फूल, चथा फूल, फलफूल, अदुवाको बोट लगायत राखेर चन्द्रमाको पूजा गर्ने चलन छ ।

प्रतिक्रिया