भक्तपुरको दरबार स्क्वायरमा टी–२० विश्वकप ट्रफी प्रदर्शनी

राष्ट्रिय समाचार समिति

भक्तपुर, १५ भदौ : भक्तपुरको दरबार स्क्वायरमा आज टी–२० विश्वकप ट्रफी प्रदर्शनीमा राखिएको छ । आज दिउँसो १ बजेसम्म ऐतिहासिक सम्पदास्थल दरबार स्क्वायरमा प्रदर्शनमा राखिएको आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफी खेलाडी, विद्यार्थीलगायत हजारौँले अवलोकन गरेका छन् ।

विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शन गरिने विश्वकपको सयदिने ट्रफी भ्रमणअन्तर्गत अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने टी–२० विश्वकप ट्रफी नेपालमा ल्याएर भक्तपुर दरबार स्क्वायरमा प्रर्दशन गरिएको हो । ट्रफी नेपालमा दुई दिन राखिने छ ।

प्रदर्शनीमा नेपाली क्रिकेट टिमका पूर्वकप्तान विनोद दास, खेलाडी शरद् भेषवाकर, महबुब आलम, रुबिना क्षेत्री र कलाकार सरोज खनाललगायतको सहभागितामा कार्यक्रमको महत्वमाथि प्रकाश पारिएको थियो ।

नेपालमा ल्याइएको क्रिकेटको विश्वकप ट्रफी सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा रहेको गोक्यो तालमा प्रदर्शनी गरिने नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले जानकारी दिएको छ ।

यसअघि सन् २०१८ मा एक दिवसीय विश्वकपको ट्रफी पनि प्रर्दशनीका लागि नेपाल ल्याइएको थियो । अस्ट्रेलियाको सात सहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ । विश्वकपमा १६ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतिक्रिया