नेपालका लागि नेपाली पार्टीले सार्वजनिक गर्यो चुनावी प्रतिबद्धतापत्र, बालकृष्ण न्यौपाने काठमाडौं–१ उठ्ने घोषणा

admin

काठमाडौं, २४ भदौ : नेपालका लागि नेपाली पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिने भएको छ। सो पार्टीले ‘‘शंख’’ चुनाव चिन्ह लिएर चुनावमा भाग लिने भएको हो । पार्टीले आज प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेको छ ।

उसले प्रत्येक नागरिकको राजनीतिक हैसियतमा ‘निर्णायक’, आर्थिक हैसियतमा ‘सम्पन्न’, सामाजिक हैसियतमा ‘सम्मानित’ र सांस्कृतिक हैसियतमा ‘लोकप्रिय’ बन्न पाउने अधिकारलाई सुनिश्चित् गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपालका लागि नेपाली पार्टीका अध्यक्ष तथा बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले चुनाव चिन्हको महिमाबारे प्रकाश पारेका थिए । उनले महाभारतको युद्धको स्मरण गराउँदै दिल्लीमा १२ बुँदे सम्झौता गर्नेहरुलाई कौरवरुपीको संज्ञा दिए । उनले कौरव र पाण्डवको युद्धमा कृष्णले शंख बजाएर युद्धको उद्घाटन गरेको सुनाए ।

उनले आफूहरुपनि नेपालमा सत्य र असत्यको लडाईको लागि यही शंख लिएर जनताको बीचमा जान लागेको सुनाए । उनले आफूहरु देश जोगाउने काम गर्ने विश्वास दिलाए । उनले आफूले महाकाली, टनकपुर सन्धिको विरुद्धमा मुद्दा गरेको स्मरण गराए । उनले राजनीतिबाट देश जोगाउनुपर्ने उल्लेख गरे । उनले आफू काठमाडौं–१ बाट चुनाव उठ्ने घोषणा गरे । उनले आफूले गरेको कामको आधारमा भोट दिन पनि अपिल गरे ।

कार्यक्रममा नेपालका लागि नेपाली पार्टीका सचिव दीपक महाराज आत्रेयले आफू काठमाडौं–४ बाट प्रत्यतर्फ चुनाव लड्ने घोषणा गरे । उनले फेरि एकपटक नेपाललाई धार्मिक क्षेत्रलाई गुमराहमा राख्न खोजिएको भन्दै सबै सचेत रहन आग्रह गरे । उनले राप्रपाको निर्णय कमिटीप्रति आपत्ति जनाए । निर्णय कमिटीमा भएका राप्रपाका नेताहरुले हिन्दूराष्ट्र बनाउन नसक्ने भन्दै झुक्याउन खोजिएको उनको आरोप छ । आफूहरुको डुंगामा सवार हुन आग्रह गर्दै उक्त ड्ंगाले पार लगाउने सुनाए ।

त्यस्तै, आम नागरिक अभियानका संयोजक हेमराज शाहले ः नागरिकता विद्येयकको विरोध जनाए । आफ्नो अभियानले नेपालका लागि नेपाली पार्टीलाई चुनावमा सहयोग गर्ने समर्थन जनाए । उनले नेपालका लागि नेपाली पार्टीलाई बहुमत दिन पनि आम जनतासमक्ष अपिल गरे । उनले बालकृष्ण न्यौपानेलाई महान राष्ट्रवादी नेताको रुपमा चित्रण गरे ।

अर्का वक्ता तिलकप्रसाद रिजालले आफूहरुले देशमा रामराज्य स्थापना गर्ने प्रतिबद्धता जनाए । उनले कुनैपनि नागरिकले आफूप्रति अन्याय नहोस भन्ने चाहेको भन्दै आफूहरुले सोही राज्यको परिकल्पना गरेको सुनाए । उनले आफूहरुले रामराज्यको क्रान्ति घरघरमा र जनजनमा पुर्याउने विश्वास दिलाए ।

 

उनले नेपालका केही बुख्याँचा नेताले विदेशीको नक्कल गरेको आरोप लगाए । उनले दुई तिहाई बहुमत ल्याउनसक्ने विश्वास दिलाए । धर्मको आवरणमा सक्रियहरुले जनतामा धर्मको नाममा भ्रम छर्न खोजेको उनको आक्रोश थियो ।

नेपालका लागि नेपाली पार्टीका वरिष्ठ उपाध्यक्ष जगतबहादुर थापाले आफूहरु साझा रुपमा अघि बढेको सुनाए । उनले सबै मिलेर संयुक्त शान्तिपूर्ण नागरिक आन्दोलनमा होमिएको पनि स्मरण गराए । उनले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता आफूहरुले खारेज गर्न चाहेको स्पष्ट पारे । उनले शंख चिन्ह लिएर चुनाव लडेकाहरुलाई जिताउन अपिल गरे ।

यस्तै, अर्का वक्ता आम नागरिक अभियानको तर्फबाट प्रदेश नम्बर २ का संयोजक बिरु रायले तराईमा आफूहरु पार्टीको अभियानमा सक्रियताका साथ खटेको सुनाए । उनले पार्टीलाई अत्यधिक बहुमत दिएर जिताउन पनि आम जनतासमक्ष अपिल गरे ।

यस्तै, नेपालका लागि नेपाली पार्टीका सचिव सुजन नेपालीले नेपालको संसद्बाट एमसिसी पास भएकोमा दलहरुप्रति आक्रोश पोखे । उनले आफ्नो पार्टीलाई सरकारको नेतृत्वमा पुर्याउने विश्वास दिलाए ।

अर्का वक्ता नेपालका लागि नेपाली पार्टीका सचिव तथा आगामी निर्वाचनमा भक्तपुर–२ का उम्मेद्धवारका आकांक्षी राजेश ले कला र संस्कृतिले भरिपूर्ण जिल्लाको विकासमा आफ्नो योगदान पुर्याउने विश्वास दिलाए । उनले जिल्लामा विकासको तिव्र लहर ल्याउने बताए ।

पार्टीका महामन्त्री साग खड्काले प्रेस वmत्तव्य वाचन गरेका थिए । उनले सम्बोधनको क्रममा पार्टीका अध्यक्ष बालकृष्ण न्यौपानेले लिएको नेतृत्वदायी भूमिकामा मुलुकमा भ्रष्टाचार अन्त्य हुने विश्वास दिलाए ।

प्रतिक्रिया