आज इन्द्रजात्राकाे अन्तिम दिन, इन्द्रध्वजा ढालिँदै

admin

काठमाण्डाै, भदौ २९ : काठमाण्डाैको हनुमानढोकामा इन्द्रध्वजा ठड्याएर सुरु भएको इन्द्रजात्रा आज इन्द्रध्वजा ढालेर सकिँदैछ ।

आज बेलुका ७ बजेर ३३ मिनेटको साइतमा मानन्धर समुदायको नेतृत्वमा लिगो ढालिने केन्द्रीय मानन्धर सङ्घका पूर्व उपसभापति मोहन कृष्ण मानन्धरले बताउनुभयो ।

इन्द्रध्वजा ढालेपछि टेकुमा सेलाइने परम्परा छ । तर इन्द्रध्वजासँगै काठमाण्डाैको सुरक्षाको लागि भन्दै आठ कुनामा ठड्याएको लाकासिं भनिने अष्टमात्रिकाको प्रतिकलाई भने अर्को सालको जात्राको लागि राखिने मानन्धरले बताउनु भयो । भाद्र २२ गते इन्द्रध्वजा ठड्याएर येँया भनिने इन्द्रजात्रा सुरु भएको थियो ।

यसैबीच इन्द्रजात्राको आज अन्तिम दिन, कुमारीको रथ महिलाहरुले तानिँदैछ । केहीवर्ष अघिदेखि आजकाे दिन कुमारीको रथ महिलाहरुले मात्र तान्न थालेका हुन् ।

आज महिलाहरुले कुमारीसहित गणेश, कुमारको रथलाई वसन्तपुर, प्याफल , नरदेवी , किलागल, भेडासिंबाट तानेर कुमारी घरमा नै फर्काइने इन्द्रजात्रा व्यवस्थापन समितिले जनाएको छ ।

त्यस्तै आज एक हप्ताको लागि खोलिएको श्वेत भैरवको ढोका पनि बन्द गरिँदैछ भने जात्राको लागि विभिन्न ठाउँबाट आएका पुलुकिसी, लाखे लगायतका देवगण पनि पूजा थापेर आआफ्नो ठाउँमा नै फर्किँदैछन् । त्यस्तै आजका दिन राष्ट्रप्रमुखले कुमारीको हातबाट टीका थाप्ने परम्परा छ ।

प्रतिक्रिया