सरकारी कर्मचारी र शिक्षकलाई आयोगको निर्देशन– चुनावका प्रचार सामग्रीमा लाइक र कमेन्ट समेत नगर्नू

admin

काठमाडौं, २६ असोज : निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि कुनै पनि दल र उम्मेदवारको पक्ष र विपक्षमा गतिविधि नगर्न सरकारी कर्मचारी र शिक्षकहरूलाई निर्देशन दिएको छ ।

निर्वाचन आचारसंहिता २०७९ को अनुगमन गर्दा कतिपय सरकारी कर्मचारी तथा शिक्षक/प्राध्यापकहरूले राजनीतिक दल र उम्मेदवारकाे पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएको भन्दै आयोगले कडा निर्देशन दिएको हो ।

प्रचारप्रसारमा संलग्न कर्मचारी र शिक्षकहरूले उम्मेदवारसँग तस्बिर खिचाउने, बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवारका प्रचार सामग्रीलाई शेयर र लाइक गर्ने गरेका घटनाहरू अनुगमनका क्रममा पाइएकाले आयोगले कारबाही सुरु गरेको जानकारी दिएको छ ।

निर्वाचन आचारसंहितामा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष–विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसार सामग्री पोस्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने व्यवस्था गरिएको आयोगले स्मरण गराएको छ ।

प्रतिक्रिया