सरकार फेरि पनि अपूर्ण !

admin

काठमाडौं, २६ असोज : प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) तर्फका मन्त्रीहरुलाई हटाउने तयारी गरेका छन् ।

जसपाले नेकपा एमालेको गठबन्धन रोजेपछि प्रधानमन्त्री देउवाले सरकारबाट हटाउने तयारी गरेका हुन् । हटाउनु अगाडि नै राजीनामा गर्न प्रधानमन्त्री देउवाले समय दिएको बालुवाटार स्रोतले जनायो ।

सरकारमा जसपाका तर्फबाट राजेन्द्र श्रैष्ठ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाकराई, नव तथा वातारण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपंक्षी मन्त्री मृगेन्द्कुमार सिंह छन् ।

तर यी मन्त्रीहरुले राजीनामा गर्ने मनसाय नगरेपछि हटाउन लागेका हुन् ।२०७४ को चुनावमा पनि अहिलेकै जस्तो परिस्थिति प्रधानमन्त्री देउवाले खेपेका थिए ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले एमालेसँग गठबन्धन गरेको थियो । देउवा नै प्रधानमन्त्री थिए । देउवा प्रधानमन्त्री भएकै बेला माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गरेको थियो ।

तर माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुले राजीनामा नगरी बसेका थिए । प्रधानमन्त्री देउवाले भने सबै मन्त्रीलाई बिना विभागीय बनाइदिएका थिए । बिना विभागीय मन्त्रीकै हैसियतमा चुनावमा गएका थिए । त्यसबेला जिम्मेवारी खोसेका देउवाले यसपटक भने हटाइदिने नै तयारी गरेका छन् ।

जसपा तर्फका मन्त्रीहरु हटेमा मन्त्रिपरिषद् फेरि अधुरो हुनेछ । सत्तारुढ गठबन्धनसँग सिट भागबण्डामा असन्तुष्टि जनाउँदै जसपाले एमालेसँग तालमेल गरेको छ । एमालेसँग तालमेल गरेपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सत्तारुढ गठबन्धनमा भित्रिएको छ ।

तर निर्वाचन आचारसंहिताका कारणले गर्दा लोसपाका नेताहरुलाई प्रधानमन्त्रीले मन्त्री नियुक्ति गर्न पाउने छैनन् । त्यसो हुँदा चार वटा मन्त्रालय रिक्त हुनेछ । रक्षा मन्त्रालय यसअघि नै रिक्त थियो । ६ महिना मात्रै गैरसांसदले मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाका कारणले कानून मन्त्री गोविन्द वियोगीको पनि पद जाँदैछ । यसको अर्थ मन्त्रिपरिषदमा अब ६ वटा मन्त्रालय रिक्त हुँदैछ ।

कांग्रेस महामन्त्रीमा पराजित भएपछि मिनेन्द्र रिजालले रक्षा मन्त्रीबाट राजीनामा दिएका थिए । त्यसपछि रक्षा मन्त्रालय प्रधानमन्त्री देउवा आफैले सम्हाल्दै आएका छन् । बाँकी मन्त्रालय पनि अब प्रधानमन्त्री देउवाकै कार्यालयमा जाने सम्भावना छ ।

मन्त्रिपरिषद् रिक्त हुन थालेको भने प्रतिनिधिसभा विघटनको निर्णय भएबाटै हो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि लगातार मन्त्रीहरु फेरिने र रिक्त हुने क्रम चल्दै आएको छ ।

प्रतिक्रिया