हिमपहिरोमा बेपत्ताको खोजतलास तथा उद्धार कार्य जारी

admin

काठमाडौँ, २९ चैत : सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजतलास तथा उद्धार कार्य जारी रहेको पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार चालु वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पु¥याउने क्रममा आधार शिविरदेखि माथि क्याम्प–१ को बीचमा आइसफल क्षेत्रको दाम भन्ने स्थानमा आज बिहान हिउँको ढिस्कोले पुरिएर दाछिरी शेर्पा, पेम्वा तेन्जिङ शेर्पा र लाक्पा रीता शेर्पा बेपत्ता भएका हुन् ।

बेपत्ता भएका तीनैजना इमाजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन प्रालिका तर्फबाट खटिएका खुम्बु पासाल्हामु गाउँपालिका–५ निवासी हुन् । सिम्रिक एयरको हेलिकप्टर र स्थलगत मार्गबाट तीव्ररूपमा बेपत्ताको खोजतलास तथा उद्धार कार्य जारी रहेको विभागले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

उक्त कार्यमा स्थानीय प्रशासन, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालयन उद्धार सङ्घ, इमाजिन एक्सिपिडिसन कम्पनी र पर्वतारोहण सञ्चालक सङ्घ नेपालसँगको सहकार्य रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया