देशभरका नेवार समुदायले मनाए घण्टाकर्ण पर्व

admin

काठमाडौं, असार ३० : काठमाडौं उपत्यकालगायत देशभरका नेवार समुदायले शनिबार घण्टाकर्ण पर्व मनाएका छन् । घण्टाकर्ण पर्वलाई काठमाडौं उपत्यकाका नेवार समुदायले गठेमङ्गल पर्वका रुपमा मनाउने गर्दछन् ।

हरेक वर्ष साउन शुक्ल चतुर्दशीमा नास्तिक गठांमुगःलाई दाहसंस्कार गरी घण्टाकर्ण अर्थात् गठांमुगः चःह्रे मनाउने गरिन्छ । भक्तपुरमा मनाइने गठेमङ्गलको छुट्टै आकर्षण छ ।

त्यहाँ टोलटोलमा नर्कट, छ्वाली, नाङ्लो, हाँडीबाट मानवरुपी तीनखुट्टे, गठांमुगः को पुत्ला बनाइन्छ । टोलटोलमा अघिल्लो दिन साँझ नै नर्कटमा छ्वाली बेरेको मानवरुपी गठांमुगःको पुत्ला बनाइ हाँडीमा नाक, मुख र कान बनाइन्छ । टोलटोलमा बनाइएको गठांमुगःलाई टोलबासी मिलेर नजिकको दोबाटोमा लगेर जलाइन्छ ।

चोक दोबाटोमा बसेर बालबालिका चोर्ने र मारेर खाने घण्टाकर्णलाई टोलबासी मिलेर मारी दाहसंस्कार गरेको पर्वका रुपमा गठांमुगः चःह्रे मनाइँदै आएको छ । त्यस्तै मध्यपुरको थिमिस्थीत बालकुमारीमा रहेको पोखरीमा राँगाको खुट्टा खोज्ने प्रचलन छ । भक्तपुरको सांस्कृतिक पर्वहरुलाई जगेर्ना गर्न नगरपालीका पनि सक्रिय रहेको मध्यपुर थिमि नगरपालीकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।

यस दिन नेवार समुदायले आफ्नो घरगृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर घण्टाकर्णको पूजा गरी घर–घरबाट भूतप्रेत मन्छाउने गर्दछन् ।

प्रतिक्रिया