बढुवा प्रक्रिया यथाशीघ्र अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको माग

admin

काठमाडौं, साउन २२ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा कार्यरत कर्मचारीहरुले तीन दिनभित्र बृत्तिबिकासका लागि उचित निर्णय नभए देशभरका कार्यालयमा काम ठप्प पार्ने चेतावनी दिएका छन् ।

सोमबार सिंहदरबारमा खेलकुदमन्त्री डिग बहादुर लिम्बुलाई ध्यानाकर्षण पत्र बुझाउदै उनीहरुले लामो समयदेखि राखेपका कर्मचारीहरुको बृत्तिबिकास रोकिएको भन्दै तीन दिनभित्र उचित निकास ननिस्किए ७७ जिल्लामा काम ठप्प पार्ने चेतावनी दिएका हुन् ।

त्यस्तै उनीहरुले एसियन गेमको प्रशिक्षण पनि बन्द गर्ने चेतावनी दिएका छन् । राखेपको ११६ औं बोर्ड बैठकको निर्णय अनुसार बढुवा प्रक्रिया अगाडि बढाईएकोमा तालुक मन्त्रालयको असहयोग भएका कारण निष्कर्षमा पुग्न कठिनाई भएको कर्मचारीहरुले बताएका छन् ।

कर्मचारीहरुको ध्यानकर्षण बुझ्दै मन्त्री लिम्वुले कर्मचारीहरुको माग प्रति सकारात्मक रहेको भन्दै सवैको समान धारणा बनाएर अघि बढ्ने बताउनुभयो । राखेपमा बेतिथीको जानकारी प्राप्त भएकाले यसमा मन्त्रालयले आगामी कदम चाल्ने उहाले बताउनुभयो । मन्त्री लिम्वुले कर्मचारीले अधिकारको कुरा गर्दा कतव्र्यको कुरा छाड्न नहुने उल्लेख गर्नुभयो ।

राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी(भण्डारी)ले लामो समयसम्म पनि कर्मचारीको बढुवा नहुदा पनि सरोकारवाला निकाय मौन रहेको गुनासो गर्नुभयो । कर्मचारीको बृत्तिबिकास रोकिएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको भन्दै उहाले तीनदिनभित्र आफ्ना माग पुरा नभए देशभर काम ठप्प पार्ने र एसियन गेमको प्रशिक्षण समेत प्रभावित हुन सक्ने चेतावनी दिनुभयो ।

यसअघि जेष्ठमा बसेको राखेपको ११६ वोर्ड बैठकले कर्मचारीहरुको विशेष बढुवा गर्ने निर्णय गरेको थियो । जसअनुसार पदपूर्ति समितिको गठन गरिएको थियो । पदपूर्ति समितिले बढुवाको प्रक्रिया अनुरुप सिफारिस गरि आन्तरिक प्रक्रियाहरु पुरा गर्दा पनि अन्तिम चरणमा नामावली प्रकाशित र सिफारिसको काम रोखिएपछि कर्मचारीहरु आन्दोलित भएका हुन् ।

प्रतिक्रिया