चोर बाटोबाट भित्रिन्छन् कामदारः स्वास्थ्य सुरक्षामा चुनौती

राष्ट्रिय समाचार समिति

बाँके, १८ चैत :छिमेकी मुलुक भारतको दिल्ली, कानपुर र पञ्जाबबाट चोर बाटो हुँदै आइतबार नरैनापुर भित्रिएका कामदारकोे स्वास्थ्यजाँचपछि चिकित्सकले उनीहरुलाई घरमै बस्न सल्लाह दिएका छन् ।

कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै भारतले गरेको लकडाउनपछि ज्यालादारीमा काम गरिरहेका नेपाली मजदूरहरु भारतका विभिन्न शहरबाट फिर्ता हुन थालेका छन् । भारतको विभिन्न राज्यबाट उत्तर प्रदेशका लागि सञ्चालन गरेको बस सेवामा कुनै प्रकारले बसेर नेपालका विभिन्न नाकामा आइपुगेका मजदूरहरुलाई व्यवस्थापन गर्न सुरक्षा चुनौती हुँदै गएको पाइएको छ । तर पनि नागरिक स्वास्थ्यलाई मध्यनजर गरेर योजनाहरु अघि बढाइएका छन् ।

बाँके नरैनापुर गाउँपालिकाले नरैनापुरमा स्थापना गरेको १० शय्याको क्वारेन्टाइन र नेपालगन्जस्थित सञ्चालन गरेको ५० शय्याको क्वारेन्टाइन भरिएको गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहले बताउनुभयो । “हामीलाई व्यवस्थापन गर्नमै समस्या उत्पन्न भइरहेको छ”, उहाँले भन्नुभयो ।

नरैनापुर गाउँपालिकाले भारतसंग जोडिएका सबै नाका गत शनिवारबाट नै बन्द गरेको छ । भारतीय क्षेत्रमा कोरोना सङ्क्रमण तीब्र रुपमा बढ्दै गएपछि सबै सीमानाकाबाट आवागमन अनिश्चित समयका लागि रोकिएको हो । तर पनि, घर आउने कामदारलाई सरकारले रोक्न सकिरहेको छैन् ।

नरैनापुर भारतीय क्षेत्र श्रावस्ती र बहराइचसँग प्रत्यक्ष जोडिएको र सो क्षेत्रमा कोरोना सङ्क्रमित विरामी फेला परेको सूचना भारतीय स्वास्थ्य संस्थाले जारी गरेपछि त्यस क्षेत्रमा सुरक्षा निगरानी र सतर्कता बढाइएको छ । भारतको दिल्ली, पञ्जाब, महाराष्ट्र, हरियाना, मध्यप्रदेश, उत्तरप्रदेश लगायत राज्यबाट त्यहाँ काम गरिरहेका नेपाली नागरिक फर्कने क्रम जारी छ ।

नरैनापुरमा गाउँपालिकाले हालसम्म ४२ जनालाई नेपालगञ्जस्थित क्वारेन्टाइनमा र ५४ जनालाई घरकै क्वारेन्टाइनमा व्यवस्थापन गरेको छ । यसअघि १५० भन्दा बढीको स्वास्थ्य जाँच गरि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । रोजगारीका लागि भारततर्फ गएका कामदारहरु मुख्य नाका नभई विभिन्न भित्रीबाटो प्रयोग गरि आउन लागेकाले सुरक्षा चुनौती बढ्दै गएको हो ।

“हाम्रो काम नेपाल भित्रिएको कामदारलाई स्वास्थ्य कार्यालयको जिम्मा लगाउने हो”, इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज एवं प्रहरी निरीक्षक मानबहादुर बिसीले भन्नुभयो, “ यसरी भित्रिएका व्यक्तिहरुको आवश्यकता बमोजिम व्यवस्थापन हुन नसक्दा चुनौतीपूर्ण बनेको छ ।” भारतीय क्षेत्रबाट फर्किने सबै कामदारको स्वास्थ्य जाँच गराउन स्वास्थ्यकर्मीहरु परिचलन गरिएको छ ।

दिल्लीबाट ३ दिनअघि पैदल हिँडेका नरैनापुर—५ का मनिराम यादवले भन्नुभयो, “त्यहाँ कम्पनी र काम सबै बन्द भएपछि फर्कनुको विकल्प थिएन ।” उहाँसँगै नरैनापुर—५ र ६ का ५४ जना फर्किएका छन् ।

प्रतिक्रिया