कोरोना प्रभावित महाराष्ट्र र दिल्लीबाट नेपाली धमाधम घर फर्कँदै

admin

काठमाडौं, १४ जेठ : भारतमा कोरोना महामारीका कारण रोजगारी गुमेका नेपाली धमाधम घर फर्किन थालेका छन् ।

नेपालगञ्जस्थित जमुनाह नाकाबाट अहिले दैनिक हजारौंँ नेपालीको लर्को लाग्ने गरेको छ । फर्किनेहरु अधिकांश भारतको कोरोना प्रभावित क्षेत्रका छन् । भारतको कोरोना प्रभावित क्षेत्र महाराष्ट्र र दिल्लीका विभिन्न शहरमा रोजगारीका लागि गएका करीब १८ हजार नेपाली नेपालगञ्ज नाका हुँदै पछिल्लो सात दिनमा भित्रिएका छन् ।

भारतले रेल र बस सेवा सञ्चालनमा ल्याएपछि दैनिक दुई हजार पाँच सयदेखि तीन हजारसम्म नेपाली नेपालगञ्ज नाका हुँदै नेपाल फर्किने गरेकोे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । बाँकेमा कोरोना पुष्टि भएका अधिकांश भारतको महाराष्ट्रबाट आएका नेपाली छन् ।

उनका अनुसार पछिल्लो सात दिनमा नेपालगञ्ज नाका हुँदै १७ हजार ६८६ नेपाल भित्रिएका छन् । यही जेठ ७ देखि १२ गते रातिसम्म भारतका विभिन्न ठाउँबाट सीमाक्षेत्रमा अलपत्र परेका प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसमेतका गरेर १५ हजार ४५६ नेपालीलाई जमुनाह नाकाबाट नेपाल प्रवेश गराइएकामा गए राति फेरि दुई हजार २३० जनालाई उद्धार गरिएको छ ।

स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको समन्वयमा सीमामा अलपत्र नेपालीलाई नेपाल ल्याउने काम भइरहेको प्रहरी उपरीक्षक वलीले बताए । अहिले प्रत्येक दिन दुईदेखि तीन हजारसम्म नेपाली नेपालगञ्जस्थित जमुनाह नाकामा जम्मा हुने गरेको उनको भनाइ छ । मंगलबार बिहान १० बजेसम्म दुई सय नागरिक भारतबाट नेपाल भित्रिसकेका छन् ।

नेपाल-भारत सीमा नाका पूर्णरुपमा बन्द रहे पनि भारतबाट घर फर्किएर अलपत्र परेका नेपालीलाई सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरेर घर पठाइने गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । बाँकेको कोरोना अति प्रभावित क्षेत्र बन्न पुगेको नरैनापुर गाउँपालिकामा कोरोना पुष्टि भएका नेपालीमध्ये ९० प्रतिशत महाराष्ट्रबाट आएको पाइएको छ ।

नेपालगञ्ज नाकाबाट भित्रिएर क्वारेन्टिनमा बसिरहेका कर्णाली प्रदेशका सुर्खेत र दैलेखका नागरिकमा पनि कोरोना सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठ यति बेला महाराष्ट्र र दिल्लीबाट फर्किएका नेपालीमा सङ्क्रमणको जोखिम बढी देखिएकाले तुरुन्त परीक्षण गरिनुपर्ने बताउँछन् ।

प्रतिक्रिया