क्रिप्टोकरेन्सीको विज्ञापनमा प्रियंकाको फोटो, पुगिन् सिआइबीमा

admin

क्रिप्टोकरेन्सी कारोबारीले विज्ञापनमा आफ्नो तस्बिर राखेपछि अभिनेत्री प्रियंका कार्की प्रहरीकहाँ पुगेकी छन्।

सामाजिक सञ्जालमा कार्कीको तस्बिरसहित विज्ञापन देखिएपछि प्रहरीले उनलाई सम्पर्क गरेको थियो। कार्कीले आफूले त्यस्तो विज्ञापन नगरेको सूचना प्रहरीलाई दिएकी थिइन्।

‘मेरो फोटो प्रयोग गरेर क्रिप्टोकरेन्सीको एड बनाएको रहेछ। त्यसबारे छानबिन गर्न सघाउन उहाँहरूले मलाई बोलाउनु भएको हो ,’ कार्कीले भनिन्,‘अहिले पनि यहीँ छु।’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ले पनि कार्कीसँग यस विषयमा कुराकानी भएको बताएको छ।

‘उहाँको फोटो प्रयोग भएको क्रिप्टोकरेन्सीसम्बन्धी विज्ञापन सामाजिक सञ्जालमा देखिएपछि बोलाएर खबर गरेका थियौं,’ ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले भने,‘उहाँसँग अहिले कुरा भइरहेको छ।’

नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी छ। फागुन ३० गते नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा क्रिप्टोकरेन्सी कारोबार हुने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको थियो।

प्रतिक्रिया