गोसाइँकुण्डसम्म केबुलकार निर्माणका लागि सरकार सकारात्मक : मन्त्री बस्नेत

admin

रसुवा, ७ वैशाख  : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पवित्र धार्मिकस्थल गोसाइँकुण्ड केबुलकार निर्माणमा सरकार सकारात्मक रहेको बताउनुभएको छ । वन्यजन्तुको संरक्षणमा जागरण ल्याउने उद्देश्यले रसुवामा आज आयोजित वन्यजन्तु सप्ताहअन्तर्गत दशौँ रेडपाण्डा दिवस एवं सातौँ लाङ्टाङ पर्यटन संरक्षण उत्सवको समापन कार्यक्रममा मन्त्री बस्नेतले गोसाइँकुण्ड केबुलकार निर्माणका व्यावहारिक पक्षमा लान सहजीकरणका लागि आफूले सहयोग गर्ने बताउनुभयो । 

राज्यले के दिन्छ भन्नुभन्दा देशलाई समृद्ध बनाउन हामीले के योगदान दिनुपर्छ भन्ने भावनाको विकासमा अग्रसर हुन आग्रह गर्दै मन्त्री बस्नेतले वातावरणमैत्री विकासमा हुने अप्ठ्यारा समयसापेक्ष सुधार गर्दै अगाडि बढ्ने र अबका दिनमा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को कार्य मन्त्रालयस्तरबाट ५० दिन भित्रै स्वीकृति हुने बताउनुभयो । 

 

विश्वमै दुर्लभ रहेको रेडपाण्डा, विश्वसम्पदा सूचीमा सूचीकृत पवित्र तीर्थ गोसाइँकुण्डलगायत समग्र जैविक विविधताको संरक्षणमा हातेमालो गरी अगाडि बढ्न र ‘समृद्ध नेपाल, सुखी नेपाल’ निर्माणमा सरकार अगाडि बढिरहेको मन्त्री बस्नेतले जानकारी दिनुभयो । कार्यक्रममा पूर्वमन्त्री एवं सांसद हितबहादुर तामाङले रसुवा भौगोलिक विकट भए पनि जैविक विविधताले धनी भएका कारण संरक्षणमा सहभागी हुन समुदायमाझ आग्रह गर्दै संरक्षणको जागरण ल्याउन साताव्यापी भएको कार्यक्रममा सबैको सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । 

 

संरक्षणको चेतना अभिवृद्धि गराउन साताव्यापीरुपले भएको कार्यक्रमअन्तर्गत रेडपाण्डा ट्रफी भलिबल, ब्याटमिन्टन, वक्तृत्वकला, गाउँ क्षेत्रको थुमन तथा वृद्धिममा खोलिएको होमस्टेको अवलोकन, जङ्गली पक्षीको अवलोकन, वडास्तरीय सांस्कृतिक कला प्रदर्शनसमेतका विविधि कार्य सम्पन्न भएको आयोजक संस्था लाङ्टाङ राष्ट्रिय निकुञ्ज, मध्यवर्ती व्यवस्थापन समिति र गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ । गोसाइँकुण्ड गाउँपालिकाले भने गाउँपालिकास्तरीय सन् २०१९ को भ्रमण वर्ष निरन्तर अगाडि बढिरहने उक्त गाउँपालिकाका अध्यक्ष एवं समापन कार्यक्रमका सभानायक कैसाङ नुर्पु तामाङले जानकारी दिनुभयो । 

-रासस

प्रतिक्रिया