अभिनेत्री मनिषाले भनिन्, ‘शरीरमा हुने पीडा भन्दा मनमा हुने पीडासँग कसरी लड्ने भन्ने मेरो जीवनको पाटो हो ‘हिल्ड’ (भिडियो)

मनिषा थापा

अभिनेत्री मनिषाको कोइरालाको पुस्तक ‘हिल्ड’ नेपालीमा आउने भएको छ। पुस ७ गतेदेखि पोखरामा हुन लागेको ‘नेपाल लिटरेचर फेस्टिबल’ मा ‘हिल्ड’ को नेपाली संस्करण सार्वजनिक हुन लागेको हो।

पाँच वर्षअगाडि मनिषालाई ओभरियन क्यान्सर भएको थियो। उपचार गरेपछि उनी स्वस्थ्य भएकी छन्। क्यान्सरको उपचार पछि काममा फर्किसकेकी मनिषाले आफ्नो आत्म वृत्तात ‘हिल्ड’मार्फत पोखेकी छिन्।

‘क्यान्सर भइरहँदा शारीरिक र मानसिक रुपमा कस्तो महसुस हुन्छ, शरीरमा हुने पीडा भन्दा मनमा हुने पीडासँग कसरी लड्ने भन्ने मेरो जीवनको पाटो हिल्ड हो,’ उनले भनिन्, ‘मानिसको जीवनमा घटेका केही घटनाले जीवन अनि यसलाई हेर्न दृष्टिकोण फरक हुन्छ, मेरो कथाले कसैलाई शक्ति दिन सक्छ भन्ने अपेक्षा छ।’

कार्यक्रममा उनले मृत्युलाई नजिकबाट देख्न पाएको बताइन्। उनले भनिन्, ‘डाक्टरले निको हुन्छ भन्न सक्ने, औषधि खाएर पनि निको हुन्छ भन्न सक्ने रोग क्यान्सर नभएकाले त्यसलाई निको पार्ने क्रममा उनले गरेको अनुभूतिको व्याख्या किताबमा गरिएको छ।’ उनले उपचार गरिरहँदा दिमागमा धेरै कुरा खेलेको र असाध्यै दुखदायी यात्राबाट सिकेको कुरा पुस्तकमा उतारेको बताइन्।

उनले क्यान्सको उपचारको क्रममा उपचारमा सम्भव र विश्वास लागे जति सबै काम गरेको पनि बताइन्। उनले आमालाई धन्यवाद दिँदै उपचारको क्रममा आफ्नो बेखुसीपनबाट निस्कनलाई आमाले सहयोग गरेको बताइन्। सोमबार एक कार्यक्रममा मनीषाले पुस्तक लिटरेचर फेस्टिबलमा सार्वजनिक गर्ने बारेमा जानकारी दिइन्। ‘हिल्ड’ अंग्रेजी भाषामा डिसेम्बर १५ मा सार्वजनिक भइसकेको छ। नीलम कुमारसँगको सहकार्यमा उनले लेखेको पुस्तकलाई पेनगुइन र्‍यान्डमहाउस, इन्डियाले प्रकाशित गरेको हो। नेपालमा भने फाइन प्रिन्ट्सले अनुवाद र प्रकाशन गर्दैछ।

प्रतिक्रिया