कृषकको पैसा कर्मचारीको खल्तीमा

admin

काठमाडौं, असार ११ : कृषकले पाउनुपर्ने अनुदानका सामग्रीमा नक्कली बिल बनाएर अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धानले तीनजनाविरुद्ध मुद्दा दायर गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ । कर्णाली सामुदायिक विकास केन्द्र, नेपालगन्जमा कार्यरत तत्कालीन कृषि प्राविधिक मोतीप्रसाद न्यौपाने र साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनामा कार्यरत देवराज भुसाल र श्रीस्थान ताजा तरकारी उत्पादन कृषक समूह, व्यावसायिक अदुवा उत्पादन उपआयोजना कृषक समूहका अध्यक्ष रामकुमारी केसीविरुद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूले पाँच लाख ७७ हजार तीन सय ५० रुपैयाँ अनियमितता गरेको आयोगले जनाएको छ ।

दैलेखको नारायण नगरपालिका–१ कुइकानास्थित श्रीस्थान ताजा तरकारी कृषक समूहलाई अदुवाखेती गर्न भनेर साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना, नेपालगन्जबाट दिइएको अनुदान हिनामिना भएको हो । खेती नै नगरेका कृषकको भरपाइसमेतका नक्कली बिललगायतका कागजात तयार गरी रकम अनियमितता गरेको आयोगको अनुसन्धानमा खुलेको छ ।

श्रीस्थान ताजा तरकारी उत्पादन कृषक व्यावसायिक अदुवा समूह, साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना र नेपाल राष्ट्र बैंक नेपालगन्जबीच उपआयोजना सञ्चालन गर्न भएको त्रिपक्षीय सम्झौताअनुसार कृषक समूहलाई वितरण गर्नुपर्ने अदुवाको बीउलगायतका कृषि सामग्रीमा अनियमितता भएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

सम्झौतामा उल्लेख भएअनुसारको परिमाणमा खरिद नगरी अदुवाखेती नभएकै अवस्थामा उनीहरूले गलत प्रतिवेदन तथा झुटा बिल भर्पाइसमेत तयार गरी नभएको कामको शतप्रतिशत कार्य सम्पन्न भएको भनी अनियमितता गरेका थिए ।

प्रतिक्रिया