आकाशियो खाद्यान्नको भाउ, प्रतिकेजी २०० सम्म बढ्यो

admin

काठमाडौं, पुस २२  : पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाउ आकाशिएको छ। जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको भान्सामा परेको छ। एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाउ प्रतिकेजीमै २०० रुपियाँसम्म महँगो भएको हो। 

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार दाल, गेडागुडी, तेल, चामल, आटा, चिनीलगायत मसलाजन्य वस्तुको मूल्य प्रतिकेजी पाँच रुपियाँदेखि २०० रुपियाँसम्म महँगो भएको छ तर सरकारका नियमनकारी निकायको बजार अनुगमन औपचारिकतामै सीमित भएको खबर गाेरखापत्र दैनिकमा छ। सङ्घका अनुसार एक महिनाको बीचमा सबैभन्दा थोरै चामल प्रतिकेजी पाँच रुपियाँ र सबैभन्दा बढी धुलो खुर्सानी प्रतिकेजीमा २०० रुपियाँसम्म बढेको छ। 

मासको दाल प्रतिकेजी १४० बाट बढेर १६० रुपियाँमा कारोबार भइरहेको छ। यस्तै मुसुरो दाल प्रतिकेजी १०० रुपियाँबाट १३० रुपियाँसम्म पुगेको छ भने नेपाली रहरको दाल प्रतिकेजी १३० रुपियाँबाट बढेर १६५ रुपियाँ पुगेको छ। सो अवधिमा मुग गेडा प्रतिकेजीमा १४० रुपियाँबाट १६० रुपियाँ, मुगको छाटा प्रतिकेजी १४० रुपियाँबाट १९० रुपियाँमा कारोबार भइरहेको छ भने मुगको खोस्टा ९ठूलो० प्रतिकेजी १३० रुपियाँबाट बढेर १७० रुपियाँ पुगेको छ।

 यस्तै चामलमा प्रतिकेजी पाँचदेखि १० रुपियाँसम्म बढेको छ भने तराई ताइचिन चिउरा प्रतिकेजी ६५ रुपियाँबाट बढेर ८५ रुपियाँ पुगेको छ। त्यसैगरी गेडागुडीमा बोडी प्रतिकेजी ९५ रुपियाँबाट बढेर १३० रुपियाँसम्म बढेको छ भने सेतो र हरियो केराउ प्रतिकेजीमा क्रमशः २० देखि ४० रुपियाँ बढेको छ। चिनीमा प्रतिकेजी प्रतिकेजी ८० रुपियाँबाट बढेर ८५ रुपियाँ प्रतिकेजीमा कारोबार भइरहेको छ भने तेलमा पनि प्रतिलिटर १० देखि ५० रुपियाँसम्म बढेको छ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बजार अनुगमन गर्ने जिम्मा पाएका निकायको अनुगमन खाली औपचारिकतामा मात्रै सीमित भएका कारण आमउपभोक्ता महँगीको मारमा पर्ने गरेको आरोप लगाए। दैनिक उपभोग्य वस्तुको मूल्य विश्लेषण गर्ने सरकारको संयन्त्र नबन्दा बजारमा उत्पादन उद्योग र व्यापारीको मनोमानी बढेको पनि उहाँको भनाइ छ।

दाल, चामल, गेडागुडी, तेल मात्रै होइन कुखुराको अण्डा र मासुको भाउ पनि एक्कासि महँगो हुँदासमेत अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खै कारबाही गर्न सकेको उनले प्रश्न गरे।

 

 उनले पछिल्लो समयमा बजार अनुगमनका क्रममा जतिसुकै ठूलो अपराध गरे पनि सामान्य जरिवाना मात्रै गर्ने प्रचलनले बजारमा डरलाग्दो बेथिति बढेको बताए। उनका अनुसार नेपाली बजारमा कुनै क्षेत्र यस्तो छैन, जहाँ उपभोक्ता नठगिएका होउन्।

मञ्चका अध्यक्ष तिमिल्सिनाले सरकारको अनुगमन बिलबिजक र मूल्यसूचीमा मात्रै केन्द्रित हुँदा मूल्य, गुणस्तर र नापतौलमा उपभोक्ता झनै बढी ठगिने गरेको बताए। सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले हाल दैनिक उपभोग्य सामानको मूल्य थोकमै महँगो भएकाले यसको कारण खोजी गरिनुपर्ने आवश्यकता औँल्याए।

 

प्रतिक्रिया