आज विश्व मुटु दिवस, ‘मन लगाउँ, मुटु बचाउँ’ भन्ने नाराका साथ मनाईँदै

admin

काठमाडौं, असोज १३ : आज सेप्टेम्बर २९, विश्व मुटु दिवस। विश्व मुटु महासंघको आह्वानमा विश्वभर मन लगाउँ, मुटु बचाउँ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ। नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख मुटुरोगी भएको नेपाल हृदयरोग निवारण प्रतिष्ठानको अनुमान छ।

प्रतिष्ठानका अनुसार करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप, २० प्रतिशतलाई कोलेस्ट्रोल, १० प्रतिशतलाई मधुमेह र १ प्रतिशत बालबालिकालाई बाथ मुटुरोगको समस्या छ। विश्वमा पछिल्लो समय मुटु रोगबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष १ करोड ७५ लाख मानिसको मृत्यु मुटु र मुटु सम्बन्धी रोगका कारण हुने गरेको छ। यसरी मुटुको रोग र यसबाट मृत्युको संख्या बढ्दै गएपछि विश्व मुटु फेडेरेसन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतबारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालिएकोमा सन् २०१२ सेप्टेम्बर २९ तारिखलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालिएको हो।

नेपाल लगायत विकासोन्मुख देशहरुमा मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैलीका कारण मुटु सम्बन्धी समस्या देखिन थालेको चिकित्सकहरूको भनाइ छ।

चिकित्सकहरुका अनुसार धुमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारिरिक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्न सकिन्छ।

प्रतिक्रिया