कैयौँ महिनापछि मिडियाको सामु आए ‘ज्याक मा’

admin

एजेन्सी, ७ माघ : अलिबाबा कम्पनीका संस्थापक ज्याक मा कैयौँ महिनापछि एक पटक फेरि मिडियाको सामु आएका छन् । गएको वर्षको नोभेम्बर महिनाको सुरुवातदेखि उनी सार्वजनिक रुपमा देखिएका थिएनन् । आफ्नो च्यरिटी फाउण्डेशनको एक अभियानका लागि उनले भिडियो लिङ्कमार्फत ग्रामीण क्षेत्रका स्कुलमा काम गरिरहेका शिक्षकहरुसँग कुराकानी गरे ।

चीन सरकार समर्थित मिडिया ग्लोबल टाइम्सले ज्याक माको भिडियो मिडियामा पोस्ट गरेको हो । ग्लोबल टाइम्सका अनुसार केही समयअघि मात्र वित्तीय नियामक संस्थाले अलिबाबा कम्पनीलाई लिएर जाँच सुरु गरेको थियो र त्यसपछि पहिलो पटक अलिबाबा मिडियामा देखिएको हो । अलिबाबा कम्पनी सुरु गर्नुअघि ज्याक मा आफै अंग्रेजी भाषाका शिक्षक थिए ।

सीएनबीसीका अनुसार ज्याक माको भिडियो सार्वजनिक भएपछि उनको हङकङ स्टक एक्सचेन्जमा सूचीकृत उनको कम्पनीको स्टक मूल्य पाँच प्रतिशतसम्म बढेको छ । गएको वर्षको अक्टोबरमा एन्ट समूह (पहिले यसलाई एन्ट फाइनेसियल एण्ड अलीपेको नामबाट चिनिन्थ्यो) को आईपीओ जारी गर्ने गरिनुलाई ज्याक माले यो अहिलेसम्मकै विश्वको सबैभन्दा ठूलो आईपीओ हुने बताएका थिए ।

साउदी अरामको आईपीओभन्दा यो अझै ठूलो हुन सक्ने उनले दाबी गरेका थिए । शङ्घाईमा भएको एक सम्मेलनमा ज्याक माले भनेका थिए, ‘पाँच वर्षअघिसम्म या फेरि तीन वर्ष पहिलेसम्म मैले यसको कल्पना पनि गरेको थिइँन तर अहिले जे भइरहेको छ, यो जादु जस्तै छ ।’ उनको यो बयानपछि चीनको वित्तीय नियामकले उनको कम्पनीमाथि जाँच सुरु गरेको थियो र त्यसपछि ज्याक मा मिडियामा देखिएका थिएनन् ।

यस्तो अवस्थामा उनी कहीँ हराइरहेको अनुमान लगाइएको थियो । ब्लुमबर्गका अनुसार अहिलेसम्म ज्याक मा कहाँ छन् भन्नेबारेमा थाहा भइसकेको छैन । तर अहिले सार्वजनिक रूपमा उनी देखिएपछि अब उनको बारेमा भइरहेको चर्चा समाप्त भएको छ ।

प्रतिक्रिया