‘चकलेट डे’ मनाएर छतमा डेटिङ गएका एक प्रेमी जोडीको शव फेला

रिता घिसिंग

एजेन्सी : हरियाणाको यमुनानगरमा बस्ने एक जोडीको प्रेम कहानी सदाको लागि खत्तम भएको छ। शनिबार चकलेट डे’ मनाएर साँझपख घरको छतमा भेट्न गएका प्रेमी प्रेमिकालाई थाहै थिएन कि छतमा उनीहरु दुवैको मृत्युले प्रतिक्षा गरिरहेको थियो । उनीहरु राती नै ११ किलोभोल्टको बिजुलीको करेन्टको चपेटामा परे र उनीहरुको घटनास्थलमै मृत्यु भयो । घटनाबारे त्यतिबेला मात्र थाहा भयो जब बिहान किशोरीका परिवारले किशोरीलाई घरमा भेटेनन् । किशोरीकी आमाले छोरीलाई खोज्दै घरको छतमा जाँदा छिमेकीको छतमा २ जनाको लाश देखिन् ।

एक लाश उनकी १५ वर्षकी छोरीको थियो । उनी दुई भाइकी एक्ली दिदी थिइन् । युवक १९ वर्षका सन्नी तीन बहिनीहरुको एक्ला दाजु थिए । युवकका परिवारले पहिले दुवैको हत्याको आशंका गरे । पछि प्रहरीले यो अचानक भएको दुर्घटना बतायो । यी दुईबीच प्रेम सम्बन्ध भएको बताइएको छ । युवकले किशोरीलाई एक मोवाइल दिएको थियो । दुई महिनाअघि किशोरीलाई उनका पिताले मोवाइलमा कुरा गरिरहेको बेला भेटेका थिए । त्यतिबेला किशोरीले मोवाइल सन्नीले दिएको बताएकी थिइन् ।

हरियाणाको यमुनानगरका यी दुईको सम्बन्धबारे त्यतिबेला गाउँमा बैठक बसेको थियो र उनीहरुलाई एक अर्कासँग नभेट्ने शर्तमा छाडिएको थियो । तर, त्यसपछि पनि उनीहरु लुकिछिपी भेट्ने गरेको रहेछ । किशोरी ८ कक्षामा पढ्थिन् । युवक फर्निचरको काम सिकिरहेका थिए । उनीहरु स्कुल जाने र फर्कने समय कुरा गर्थे । किशोरी शनिबार राती आफ्नो कोठामा सुतेकी थिइन् । त्यही कोठामा उनका दुई भाइ पनि सुतेका थिए । बिहान उनको सानो भाइ उठेर दिदी कोठामा नभएको आमालाई बताएका थिए ।

सन्नीकी बहिनीका अनुसार उनको कोठामा चकलेट थियो । साँझ उनी बाहिरबाट आउँदा भने केही ल्याएका थिएनन् । यो चकलेट किशोरीले नै दिएको आशंका गरिएको छ । जुन घरको छतमा यो दुर्घटना भयो त्यो घरमाथिबाट ११ किलोभोल्टको लाइन जान्छ । दुवै लाइन छतबाट मात्र २ फिट उचाइमा छन् । घरमालिकले आफ्नो घरबाट छतमा जाने बाटोतर्फबाट छतमा भित्ता बनाएका छन् ताकि उनको परिवारका कोही तार भएतिर नजाउन् । तर, किशोरीको घरतिरबाट त्यहाँ जाने बाटोमा भित्ता छैनन । ती दुईजना त्यही बाटोबाट छतमा गएको र अँध्यारोमा तार नदेखेको अनुमान गरिएको छ ।

प्रतिक्रिया