जता जंगल उतै डोजर, महाभारत क्षेत्रको घना जंगल मासेर आठवटा सडक

admin

काठमाडौं, माघ १४ : डडेलधुरा गोगनका हरि नाथ ०५९ सालमा आफनो गाउँ जोडने सडक निर्माण सुरु हुँदा १७ वर्षका थिए । गोगन हुँदै अमरगढी नगरपालिकाको चिर्किट्टे पुग्ने उक्त सडकको उपभोक्ता समितिमा बस्न खोज्दा उनले उमेर नपुगेकाले पाएनन् । उनी समितिमा बस्न नपाए पनि सडक निर्माण सुरु भयो ।

उक्त सडक खनिनसक्दै भित्री मधेसको साविक शीर्ष र आलीताल गाविसको सलुनबाट गोगन हुँदै चिर्किट्टे जोडन थप दुईवटा सडक खन्न थालियो। केही समयपछि जिल्ला सदरमुकाम समेत रहेको अमरगढी नगरपालिबाट अर्को सडक निर्माण सुरु भयो। चिर्किट्टे जोडनकै लागि त्यसपछि अरू पाँचवटा सडक खनिएका छन्।

नाथ अहिले ३४ वर्षका भए तर कुनै पनि सडक पूरा भएका छैनन्। बरु महाभारतका भित्री बस्तीलाई चिर्किट्टेसँग जोडेर ६/७ किलोमिटर परको सदरमुकाम पुर्‍याउने नाममा स्थानीय जनप्रतिनिधिको आँखै अघि घना सालका जंगल फँडानी भइरहेका छन्, दुर्लभ र बहुमूल्य जडीबुटीहरू विनाश भइरहेका छन्। भित्री मधेससँग जोडिएको महाभारतको तल्लो भेगमा सालको घना जंगल छ। मथिल्लो भेगमा बहुमूल्य लौठ सल्ला र जडीबुटी पाइन्छ।

चिर्किटे महाभारतको सबैभन्दा तल रहेको गाउँ हो। भित्री मधेसको परशुराम नगरपालिका र आलीताल गाउँपालिकाबाट समदूरीमा रहेको यो गाउँबाट सदरमुकाम पुग्ने सडक पहिल्यै बनिसकेको छ।

महाभारत क्षेत्रका गाउँलाई चिर्किट्टेसँग जोड्ने नाममा आठवटा सडक आवश्यक नभएको स्थानीय बासिन्दा बताउँछन्। उनीहरूका अनुसार सुरुमा खनिएका आलीतालको घुम्तीदेखि गोगन हुँदै चिकिट्टे पुग्ने र साबिकको शीर्ष गाविसको सलुन–कलेनाबाट गोगन हुँदै चिर्किट्टे जोडिने सडकलाई पूर्णता दिने हो भने सबै भित्री गाउँहरू चिर्किट्टेसँग जोडिन्छन्।

अघिल्लो सडक खन्न थालेको १७ वर्ष भएको छ भने दोस्रो सडक निर्माण सुरु भएको १४ वर्ष भइसकेको छ। यो सडकलाई प्रदेश गौरवको आयोजनामा राखिएको छ। प्रदेश र स्थानीय सरकारले पर्यावरणीय मूल्यांकन नगरी खनिएका ६ वटा सडकमा समेत बजेट खन्याइरहेका छन्। हरेक सडकमा बर्सेनि १० देखि ५० लाखसम्म बजेट खर्च हुने गरेको छ।

शीर्षकै कटालदेखि स्यालकोट अचलसैन हुँदै चिर्किट्टे जोड्ने, साबिक जोगबुढाको कैनपानीदेखि बोडा–कोलखान–गोगन हुँदै चिर्किट्टे पुग्ने, साबिक जोगबुढाको सलुन उमलेक हुँदै चिर्किट्टे जाने, शीर्षको मार्कु हुँदै गोगन चिर्किट्टे पुग्ने, शीर्षकै बसौटी हुँदै चिर्किट्टे जोड्ने र अमरगढी नगरपालिकाको घटालथानदेखि चिर्किट्टे जोड्ने सडक निर्माण सुरु भएको एक दशकभन्दा बढी भइसकेको छ। कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया