जनप्रतिनिधि, शिक्षिका र स्वयंसेविका नै छाउगोठमा

admin

काठमाडौं, पुस २९ : कर्णाली र सुदूरपश्चिमका स्थानीय जनप्रतिनिधि छाउगोठ भत्काउन प्रहरीसँगै गाउँगाउँ हिँडेका छन्, तर समाजका यिनै अगुवा महिला आफैं भने छाउगोठमै बस्न बाध्य छन्। अछामको बान्नीगढी–जयगढ गाउँ कार्यपालिकाले २५ पुसमा गाउँपालिकाभरिको छाउगोठ भत्काउने निर्णय गरेको थियो।

त, कार्यपालिकाकै सदस्य यशोदा बोहरा भने अहिले छाउगोठमा छिन्। वडा नम्बर ६ बाट शुरु भएको अभियानअन्तर्गत करिब दुई दर्जन छाउगोठ भत्काइसकिएको छ। गाउँपालिकाको मुकाम जयगढ बजारबाट करिब एक किलोमिटर पर लिमिल्सैन गाउँमा रहेको उनको घरनजिकै छाउगोठ छ। टोलका ६ परिवारका महिला महिनावारी हुँदा यही छाउगोठमा बस्नछन्।

यशोदा त्यही गोठमा भेटिइन्। ‘घरको आँगनमा पाइला राख्न मिल्दैन, हामी त चेतनशील छौं, तर परिवारलाई सम्झाउन गाह्रो छ, त्यसैले छाउगोठमा बस्न बाध्य छौं,’ उनले भनिन्। टोलमै उनकी नन्द नाता पर्ने किशोरी पनि अहिले छाउगोठमा छिन्। मुस्किलले छिर्न मिल्ने ढोका, राम्ररी खुट्टासमेत तन्काउन नमिल्ने कोठामा दुईजना सुत्छन्। वर्षामा छाउगोठ चुहिने र ढोकाबाट भित्र पानी पस्ने मात्र होइन, सर्पको समेत डर हुन्छ। तर, सामाजिक कुसंस्कारका कारण महिलाहरु छाउगोठमा बस्नुपर्ने बाध्यता रहेको यशोदाले बताइन्।

‘छाउ भएका वेला घरभित्र पस्दा देउता रिसाउने मान्यता छ, त्यसैले सासू–ससूराले भित्र बस्न दिन मान्नुहुन्न,’ यशोदाले भनिन्, ‘दुःख सहेरै भए पनि छाउगोठमा बस्नुपर्छ।’ साँघुरो घरमा छुट्टैए कोठा नभएकाले महिनावारीको समयमा छाउगोठमा बस्नुपर्ने अर्को बाध्यता रहेको उनले सुनाइन्, यो खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ।

प्रतिक्रिया