ट्रम्पले कुनै फलदायी कार्य गरेनन्, एक अत्याचारी शासकको युगको अन्त्य भयो : इरानी राष्ट्रपति

admin

एजेन्सी, ७ माघ : इरानका राष्ट्रपति हसन रुहानीले बुधबार अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गरेका छन् । ट्रम्पले बुधबार नै आफ्ना कार्यालय छोड्दै छन् । ‘एक अत्याचारी शासकको युगको अन्त्य भयो र बुधबार उनको अशुभ शासनको अन्तिम दिन हो ।

उनले चार वर्षसम्म अन्याय र भ्रष्टाचार र आफ्नै नागरिक र संसारका लागि समस्या निम्त्याउनुबाहेक अरू कुनै फलदायी कार्य गरेनन्’, रुहानीले एक टेलिभिजनमा गरेको टिप्पणीमा बताएका छन् । शक्तिशाली देश संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा बुधबारदेखि नयाँ राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हाल्दै छन् ।

गत नोभेम्बर ३ मा सम्पन्न चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएका थिए । रिपब्लिकन पार्टीका उम्मेदवार रहेका राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएसँगै दोस्रो कार्यकालका रूपमा राष्ट्रपतिमा निर्वाचित हुन पाएनन् । राष्ट्रपति ट्रम्पले सन् २०१६ मा सत्ता सम्हालेलगत्तै इरानसँगको आणविक सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गर्दै इरानमाथि कठोर आर्थिक नाकाबन्दी गरेका थिए ।

प्रतिक्रिया