नेटोले चेतावनी दिएपछि चीनको यस्तो जवाफ

admin

एजेन्सी, १ असार : ब्रसेल्समा नेटो नेताहरुको बैठकमा चीनलाई खतरा बताइएपछि चीनले नेटोमाथि आफूलाई बदनाम गरेको आरोप लगाएको छ । ​नेटो नेताहरुले चीनलाई एक ‘व्यवस्थागत चुनौती’ बताएका थिए । चीनको परमाणु हतियार बढाउने सहित सबै काम ‘नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’ का लागि खतरा भएको नेटोले बताएको थियो ।

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का नेताहरुले चीनको सैन्य तथा आणविक गतिविधिले विश्वमा गम्भीर सुरक्षा चिन्ता थपिएको बताएका थिए । चीनले गम्भीर सैन्य चुनौती प्रस्तुत गरेको भन्दै उनीहरुले चेतावनीसमेत दिएका थिए । तीव्र गतिमा परमाणु क्षमता विस्तार गरिरहेको चीन आफ्ना सैनिकको आधुनिकीकरणमा पारदर्शी नरहेको पनि उनीहरुले बताएका थिए ।

नेटोले चीनलाई आफ्नो एजेन्डाको केन्द्रमा राखेको यो पहिलो पटक हो । जवाफमा चीनले आफ्नो सुरक्षा नीति ‘रक्षात्मक प्रकृति’ को रहेको र ‘कुराकानी बढाउन आफ्नो ऊर्जा खर्च गर्न’ पनि आग्रह गरेको छ । युरोपेली सङ्घमा चीनको मिसनले एक विज्ञप्ति निकाल्दै भनेको छ, ‘हाम्रो रक्षा र सैन्य आधुनिकीकरणलाई बढाउनु उचित, खुला र पारदर्शी छ ।’

नेटोले चीनको विकासलाई ‘तर्कसङ्गत ढङ्ग’ ले देख्नुपर्ने र ‘गुटको राजनीतिमा हेरफेर गर्ने, टकराव निम्त्याउने र भू-राजनीतिक प्रतिस्पर्धालाई बढावा दिनका लागि चीनको वैध हित र अधिकारलाई बहाना नबनाउन’ विज्ञप्तिमा भनिएको छ ।

सोमबार ब्रसेल्समा भएको एकदिवसीय सम्मेलनपछि नेटोको बयान आएको थियो । जो बाइडेन अमेरिकाको राष्ट्रपति बनेपछि यो नेटोको पहिलो बैठक थियो । यो ३० युरोपेली र उत्तरी अमेरिकी देशका एक शक्तिशाली राजनीतिक र सैन्य गठबन्धन हो, जसले रुसलाई एक मुख्य खतराका रुपमा देख्दै आएको छ ।

प्रतिक्रिया