नेपालमा बोलिने गरेको भाषामा छवटा नयाँ भाषा थपियो

admin

काठमाडौं, कात्तिक १९ : नेपालमा १२३ भाषा बोलिने गरेकोमा छवटा नयाँ भाषाको पहिचान भएको छ । पहिचान भएका नयाँ भाषामा राना थारू, नार फु, चुम (स्यार), नुब्री (लार्के), पोइके र सेराके (सेके) छन् । यी भाषा क्रमशः कञ्चनपुर, मनाङ, गोरखा, डोल्पा र मुस्ताङमा बोलिने पाइएको छ ।

चुम (स्यार) र नुब्री (लार्के) दुईवटा भाषा गोरखामा बोलिने पाइएको छ । अब नेपालमा बोलिने भाषाको सङ्ख्या १२९ पुगेको छ । नेपालका अधिकांश भाषा मौखिक परम्परामा आधारित छन् र लेख्य पद्धति अझै विकास हुन सकेको अवस्था छैन । भाषा आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको वार्षिक प्रतिवेदनमा नयाँ भाषाको पहिचानलाई संस्थागत गरिएको छ । आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष पेस गर्नुभएको थियो ।

संवत् २०६८ को जनगणनाअनुसार नेपालमा बोलिने १२३ वटा भाषामध्ये चीन–तिब्बती परिवारका ६८, भारोपेली परिवारका ४८, आग्नेली परिवारको एउटा (सन्थाली भाषा), द्रविड परिवारको एउटा (उराँव र कुडुख भाषा) र भाषिक परिवार नखुलेको कुसुन्डा भाषा अस्तित्वमा थिए ।आयोगका अध्यक्ष अवस्थीले भन्नुभयो, “नेपालको संविधानले सङ्कल्प गरेअनुसारको काम गर्ने तौरतरिका मिलेको छैन, संविधानको अग्रगामी सोचअनुसार त्यसको पूर्ण पालना भएको छैन । ”

आयोगले देशका सातवटा प्रदेशमा बोलिने भाषाको विज्ञ समूहमार्फत सूक्ष्म अध्ययन गरिरहेको छ । आयोगले तयार गर्ने अन्तिम प्रतिवेदनमा कुन प्रदेशमा कुन कुन भाषाको सम्भाव्यता छ भनी प्रतिवेदन दिने तयारी आयोगको छ । आयोगको कार्य अवधि अझै दुई वर्ष छ । यो समाचार आजको गोरखापत्र दैनिकमा नारद गौतमले लेखेका छन् । 

प्रतिक्रिया