बेलायती मन्त्रीद्वारा राजीनामा

admin

लण्डन, २९ कात्तिक : ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायतका एक जना मन्त्रीले राजीनामा दिनुभएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन अर्थात् ब्रेक्जिट मामिला मन्त्री डोमिनिक राबले आफ्नै सरकारले बनाएको ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असन्तुष्टी जनाउँदै राजीनामा दिनुभएको हो । उहाँले मस्यौदालाई आफूले समर्थन गर्न नसक्ने बताउँदै पदबाट राजीनामा दिएको बताउनुभएको समाचारमा जनाइएको छ ।

यसअघिका डेभिड डेभिसले राजीनामा दिएपछि राब केही महिना अगाडि ब्रेक्जिट मामिला मन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँसहित अन्य कैयौँ मन्त्रीले पनि त्यो मस्यौदाप्रति असहमति जनाएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । अहिलेको ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउने वरिष्ठ मन्त्रीमध्ये उहाँ एक हुनुहुन्छ ।

यसअघि यही सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै शैलेश वाराले उत्तरी आयरल्याण्डको राज्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ । सम्झौताले बेलायतलाई आधा बाटोमा छोड्ने र सार्वभौम राष्ट्र बन्नबाट रोक्ने वाराको बुझाई छ । राब र वाराको राजीनामासँगै मन्त्रिपरिषद्का अन्य सदस्यलाई पनि राजीनामा दिने दबाव परेकाले मन्त्रिपरिषद् नै अप्ठ्यारोमा पुगेको छ ।

तर प्रधानमन्त्री थेरेसा मेले भने ब्रेक्जिट सम्झौताको मस्यौदालाई आफ्नो मन्त्रिपरिषद्ले समर्थन गरेको र राष्ट्रको हितमा रहेको दाबी गर्नुभएको छ । लामो समयदेखिको पटकपटकका छलफलपछि युरोपेली सङ्घबाट बेलायत बाहिरिनेसम्बन्धी सम्झौताको मस्यौदा बेलायतको मन्त्रिपरिषद्ले बुधबार पारित गरेको हो । महिनौँदेखि अन्योलमा रहेको सम्झौताबारे बेलायतको मन्त्रिपरिषद्ले पारित गरेको ब्रेक्जिट सम्झौतासम्बन्धी मस्यौदालाई अन्तिमरूप दिन अब २७ सदस्य रहेको ईयूका नेताहरूको शिखर बैठक बोलाइने छ ।

यही महिना हुने अनुमान गरिएको उक्त शिखर बैठकले यो सम्झौता अनुमोदन गर्नुपर्नेछ । त्यसपछि पनि सो सम्झौतालाई बेलायतको संसद तथा युरोपेली संसदबाट पारित गर्नुपर्नेछ । यी प्रक्रियाहरू पूरा गरेपछि सन् २०१९ को मार्च महिनामा बेलायत औपचारिकरूपमा यरोपेली सङ्घबाट बाहिरिने छ ।
-रासस÷एएफपी÷सिन्ह्वा

प्रतिक्रिया