भान्सामा ग्यासभन्दा बिजुली सस्तोः इन्डक्सनमा पकाउँदा तीन मिनेट छिटो पाक्ने

admin

काठमाडौं, २२ मंसिर: ग्यासमा भन्दा विद्युतीय ऊर्जाको प्रयोग गरेर खाना पकाउँदा आर्थिक रुपमा सस्तो पर्ने अनुसन्धानकर्ताले देखाएका छन् । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको ऊर्जा अध्ययन केन्द्रले गरेको अनुसन्धानबाट सो कुराको पुष्टि भएको हो । यसका अनुसन्धानकर्ता एवं केन्द्रका प्राडा जगन्नाथ श्रेष्ठले भने, ‘एलपी ग्यासभन्दा इन्डक्सन चुलोमा खाना पकाउँदा समय र पैसा कम खर्च हुने देखियो । त्यसैले एलपी ग्यासको प्रयोग कम गर्दै लैजान सकिएमा मुलुकलाई आर्थिक रुपमा फाइदा हुनेछ ।’


केन्द्रले यही मङ्सिर ७ गते सो अनुसन्धान गर्दा नुमनाका रुपमा आधा केजी चामल लिएको थियो । त्यसमा आधा लिटर पानी प्रयोग गरिएको थियो । चामल र पानीको तौल २.७९ केजी भएको थियो । उनले विद्युतीय चुलो (इन्डक्सन) प्रयोग गर्दा फलाम (स्टिल) को भाँडोमा मात्र पाक्न सक्ने भएकाले ग्यास र इन्डक्सन चुलोमा यो अनुसन्धान गर्दा एउटै प्रेसर कुकर प्रयोग गरिएको बताए । कुकरले दुई सिट्टी दिँदा भात पाक्ने सिद्धान्तअनुरुप भात पकाइएको थियो ।


ऊर्जाविद् प्रा.डा. श्रेष्ठले ग्यास चुलोमा भात पकाउँदा ११ मिनेट ११ सेकेन्ड र इन्डक्सनमा पकाउँदा सात मिनेट ४९ सेकेन्ड समय लागेको जानकारी दिए । ‘इन्डक्सनमा पकाउँदा झन्डै तीन मिनेट छिटो पाक्ने रहेछ,’ उनले भने । अनुसन्धानको क्रममा एक पटक भात पकाउँदा एलजी ग्यासको ऊर्जा २५ ग्राम खपत हुने र इन्डक्सनमा पकाउँदा शून्य दशमलव १४२ किलोवाट आवर खर्च हुने गरेको पत्ता लगाइएको थियो । दुई सिट्टी भात पाकेपछि खर्च भएको ऊर्जाको गणना गर्दा दुई रुपियाँ ४६ पैसा बराबरको ग्यास र एक रुपियाँ ४२ पैसा बराबरको विद्युत खर्च भएको पाइएको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेकी हुन् ।

प्रतिक्रिया