महाकालीमा मौका छोप्दै भारत

admin

दार्चुला, पुस १४ : चिसो बढेकाले नेपालका बासिन्दा तल्लो भेगमा झरेको मौका छोपेर भारतले व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना निर्माण गरेको छ। पश्चिम नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरी आफ्नो नक्सामा पारेको भारतले नेपाली पक्षको उपस्थिति नभएको फाइदा उठाउँदै एक पक्षीय रुपमा संरचना बनाएको हो।

व्यास गाउँपलिका–१ पेल्सिती नजिकै महाकालीमा भारतले अनुमतिबेगर काठेपुल बनाएको छ। महाकाली नदी नै प्रभावित हुने गरी भीर कटान गरेर सडक बनाउने कामलाई पनि तीब्र पारेको छ। ०७४ सालमा पनि भारतीय पक्षले महाकाली नदीमा नेपालको अनुमति नलिईकनै विभिन्न ठाउँमा काठेपुल बनाउनुका साथै नेपाली भूमीमा एक्स्काभेटर चलाएको थियो। चिसोका कारण यतिबेला व्यास गाउँपालिका–२ दुम्लिङभन्दा माथिेको क्षेत्रमा बसोबास छैन। व्यसको छारुङसम्मै आवतवाजत गर्दै आएका नेपाली हिमपातपछि तल्लो भेगमा झरिसकेका छन्।

जाडो बढेकाले त्यस क्षेत्रमा बसोबास गर्ने सबै तल भेगमा झरेको दुम्लिङका स्थानीय जीवनसिंह बुढाथोकीले बताए। अहिले त्यहाँ नेपालको सुरक्षा उपस्थिति पनि छैन। व्यासमा सुरक्षा दिइरहेको नेपाल प्रहरी चिसो सहन नसकेर दुम्लिङ झरेका एक महिना पनि पुगेको छैन। चार/पाँच दिनअघि व्यास क्षेत्र जाने बाटो निर्माणको सर्भे गर्न गएको टोलीका प्रतिनिधिहरु भारतीय पक्षले निर्माण गरेको पुल भएरै नेपाल-भारत आवतजावत गरेका हुन्।

टोलीमा रहेका एक प्रतिनिभिले भने,’पेल्सितीभन्दा करिब ५ सय मिटर तल नेपाल–भारततर्फ आवतजावत गर्न भारतीय पक्षबाछ काठेपुल निर्माण गरिएको छ, नदीको वारिपारि ठूल्ठूला ढुङ्गाहरुले पानी नै देखिँदैन, भारतीय सडककै कारण नेपालको महाकालीको सतह खुम्चिँदै गएको छ, नेपालतर्फ कटान भएको छ।’ त्यस ठाउँमा पुल बनाएको बारे भारतले नेपाली पक्षलाई कुनै जानकारी गराएको छैन, यो खबर कान्तिपुर दैनिकमा छापिएको छ।

प्रतिक्रिया