महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्र सफाइ

admin

काठमाडौं, ४ फागुन : महाशिवरात्रिको तयारीका लागि वाग्मती सफाइ महाअभियानको ३५३ औँ हप्तामा पशुपति क्षेत्रको आर्यघाट, सूर्यघाट, राममन्दिर लगायत क्षेत्रमा सफाइ गरिएको छ ।


सफाइमा १८ संस्थाका ३०० जनाभन्दा बढी अभियानकर्मी सहभागी थिए । सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा पनि सफाइमा सहभागी थिए ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीको पर्व महाशिवरात्रिका अवसरमा कोष लगायत स्थानीय संस्थाको सक्रियतामा एक हप्ता अघिदेखि नै दैनिक सफाइ अभियान समेत चलिरहेको छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइ पनि महाशिवरात्रिका लागि वाग्मतीको पानी कञ्चन देखाउन केन्द्रित भएको छ ।

विष्णुमती, वाग्मतीको तिलगंगा र सुन्दरीघाट, चक्रपथको उत्तरी भेगमा पनि सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई उपत्यका लगायत देशभर १०६ स्थानमा सफाइ भइरहेको छ ।

प्रतिक्रिया