म्याग्दीमा भजनकीर्तन जोगाउनै मुस्किल

admin

गलेश्वर, २३ मङ्सिर : युवापुस्ताको बेवास्ता र पुरानो पुस्ताको निष्क्रियताका कारण म्याग्दीका ग्रामीण भेगमा धार्मिक कार्यमा गाइने भजनकीर्तन लोप हुँदै जान थालेको छ । भजनकीर्तनमा आफ्नै शैली, लय अनि रहस्य लुकेको भए पनि युवापुस्तामा रक, पप र विदेशी गीतप्रतिको मोहले भजनकीर्तन जोगाउन मुस्किल हुँदै गएको हो । शहरबजारमा करीब एक दशकयतादेखि नै देखिन र सुनिन छाडेको भजनकीर्तन गाउँघरमा समेत विस्तारै खोज्नुपर्ने अवस्थामा पुगेको पण्डित भीमनाथ पराजुली बताउहुन्छ । “हिन्दूलाई विदेशी धर्मले आक्रमण गरेको छ । धर्मको जर्गेना गर्ने भजनकीर्तन हराउँदै गएका छन्”, उहाँ भन्नुहुन्छ ।

कुनैबेला बालाचर्तुदशी पर्वमा प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरभित्र भजन समूह लिएर आउनेलाई बस्ने ठाउँ पु¥याउन मुस्किल हुने गरेको अवस्थामा अहिले पत्रचार गरे पनि मुस्किलले आउने गरेकामा पण्डित पराजुली चिन्ता व्यक्त गर्नुहुन्छ । विगतमा टुक्का र कथालाई भजनमा उर्ताने पुराना कलाकारले महिला समूहसँग सहकार्य भजन गाउँदै मन्दिरमा आउने गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर कार्की बताउनुहुन्छ । भजनको पुरानै मार्मिकतालाई निरन्तरता दिन सरकारी निकायबाट कार्यक्रम तथा धार्मिक मन्दिरबीच सहकार्य आवश्यकता रहेको भजनकीर्तनका सर्जकको भनाइ छ । धार्मिक क्षेत्रका जानकारले वडास्तरमै भजनकीर्तन समूह बनाएर युवालाई प्रशिक्षण दिनुपर्नेमा जोड दिएका छन् ।
-रासस

प्रतिक्रिया