यसरी आयो बाँस्कोटाको राजीनामा

admin

काठमाडौं, ९ फागुन : सञ्चारमन्त्री गोकुल बाँस्कोटाले घुस लिन कुराकानी गरेको अडियो सार्वजनिक भएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार बिहान आफ्नै निवासमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापालाई बोलाए।

दाहालले प्रधानमन्त्री केपी ओलीसँग भेटघाटका लागि समय तय भएको भन्दै श्रेष्ठ र थापासँग ‘घुस प्रकरण’ का विषयमा सामान्य छलफल गरे। ओली र दाहालबीच बिहीबार बिहान भेट्ने कार्यक्रम अघिल्लो दिन नै तय भएको थियो। पार्टी अभियान, एकताका बाँकी काम, एमसीसी कार्यदलको तयारीलगायतका विषय कार्यसूची थिए।

बाँस्कोटाको ‘घुस प्रकरण’ को अडियो सार्वजनिक भएपछि दाहालले प्रधानमन्त्रीसँग भेट्नुअगाडि पार्टी नेतासँग पनि छलफल गरेर बालुवाटार जान उचित हुने ठाने। दाहाल निवास स्रोतले भन्यो, ‘त्यसपछि दाहालले थापा र श्रेष्ठलाई निवासमै बोलाउनुभया। सचिवालयका अन्य नेताहरूसँग सम्भव भएसम्म टेलिफोनमा सम्पर्क गर्नुभयो।’

दाहालले गृहजिल्ला रौतहटको गौरमा रहेका वरिष्ठ नेता माधव नेपालसँग पनि दाहालले टेलिफोनमा छलफल गरे। नेपालले मन्त्री बाँस्कोटाले राजीनामा दिनुपर्ने सुझाव दिए। वरिष्ठ नेता नेपाल, प्रवक्ता श्रेष्ठ र मन्त्री थापाको राय लिएर दाहाल प्रधानमन्त्रीलाई भेट्न साढे १० बजे बालुवाटार पुगे। ‘दुई अध्यक्षबीच पार्टी अभियान, बाँकी एकताका काम टुंगो लगाउने लगायतका विषयमा संवाद गर्ने समय बुधबार नै तय गरिएको थियो’, दाहाल निकट एक स्थायी समिति सदस्यले अन्नपूर्णसँग भने, ‘सञ्चारमन्त्रीको अडियो सार्वजनिक भएपछि यो विषय पनि छलफलमा पर्‍यो।’

ओलीसँगको छलफलमा दाहालले सञ्चारमन्त्रीलाई राजीनामा दिन लगाई छानबिनमा सहयोग गराउन सहज बनाइदिनुपर्ने मत राखेका थिए। ओली भने एकपटक सञ्चारमन्त्रीसँग छलफल गर्ने पक्षमा थिए। त्यसबीचमा प्रतिपक्षी कांग्रेसबाट बाँस्कोटालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्नुपर्ने वक्तव्य आइसकेको थियो। कांग्रेसले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर बाँस्कोटाले राजीनामा माग्यो।

सामाजिक सञ्जालमा पनि सञ्चारमन्त्रीको आलोचना चुलिँदै गयो। कांग्रेसले राष्ट्रियसभा अवरुद्ध गरेर प्रतिनिधिसभा पनि अवरोध गर्न खोजेपछि प्रधानमन्त्री ओलीले सभामुखमार्फत कांग्रेसलाई संसद् नघेर्न सन्देश पठाएका थिए। ‘सञ्चारमन्त्रीले काठमाडौं आएलगत्तै राजीनामा बुझाउनुहुन्छ, संसद्मा अवरुद्ध नगर्नुहोस् भन्ने सन्देश सुनाइदिनुहोला’, प्रधानमन्त्रीले सभामुख अग्नि सापकोटामार्फत कांग्रेस नेताहरूलाई सन्देश पठाएका थिए। मन्त्री बाँस्कोटा सुदूरपश्चिमबाट राजधानी आउँदै थिए।

सभामखु सापकोटाले कांग्रेस नेताहरूसँग सञ्चारमन्त्रीले राजीनामा दिने अनौपचारिक जानकारी आएको भन्दै संसद् अवरोध नगर्न आग्रह गरेका थिए। तर कांग्रेसले त्यो आग्रह मानेन। सञ्चारमन्त्री बाँस्कोटा साढे २ बजे त्रिभुवन विमानस्थलमा ओर्लेर सीधै प्रधानमन्त्री निवास बालुवाटार पुगे।

प्रधानमन्त्री ओलीलाई भेटे। ओलीको सुझावपछि उनले पदबाट राजीनामा दिए। ‘मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएको छु’, राजीनामा दिएपछि बाँस्कोटाले सामाजिक सञ्जालमा लेखे। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया