लुम्बिनीमा सीमित व्यक्तिको उपस्थितिमा प्रार्थना, ज्यान गुमाएकाको सम्झनामा २५६५ वटा दीप प्रज्ज्वलन

admin

काठमाडौं, १२ जेठ : बुद्ध जन्मस्थल लुम्बिनीमा सीमित व्यक्तिको उपस्थितिमा प्रार्थना गरिएको छ । कोरोना महामारी लकडाउनका कारण सरकारले तय गरेका मापदण्डअनुसार लुम्बिनीमा रहेको मायादेवी मन्दिर परिसरमा महायानी, बज्रयानी र थेरवादी सम्प्रदायका गुरु-गुरुमा, भिक्षु-भिक्षुणी र लामाहरु उपस्थित भएर बुद्धपूजा र मन्त्रोच्चारण गरेका छन् ।

त्यसबाहेक कार्यक्रमस्थलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सभा सदस्य फखरुद्दिन खान, लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारी मात्रै सहभागी भएका छन् । यसअघिका वर्षहरुमा धुमधामका साथ विशेष समारोहको आयोजना गरी बुद्ध पूर्णिमा मनाइने गरेको भए पनि कोरोनाका कारण पोहोर र यसपालि औपचारिक कार्यक्रम नगरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यले बताए ।

उनका अनुसार बेलुका कोरोना महामारी अन्त्य, संक्रमितहरुको स्वास्थ्यलाभ र ज्यान गुमाएकाहरुको सम्झनामा २५६५ वटा दीप प्रज्ज्वलन गरिनेछ । २५६५औँ बुद्ध जयन्तीको उपलक्षमा त्यति नै दीप प्रज्जवलन गरिने भएको हो ।

प्रतिक्रिया