सञ्चारकर्मी लामिछानेद्वारा नयाँ यात्राको शुरुवात, कुन शैलीमा आउँदैछ सिधा कुरा…?

admin

काठमाडौं, ११ फागुन : सञ्चारकर्मी रवि लामिछाने लगायतको टिमले नयाँ टेलिभिजन च्यानल ल्याएका छन् । गोरखा मिडिया नेटवर्क प्रालि अन्तर्गत ‘ग्यालेक्सी फोरके’ टिभी नामको नयाँ टेलिभिजन च्यानलमा लामिछाने म्यानेजिङ डाइरेक्टर रहेका छन् ।

काठमाडौंमा मंगलबार एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताए । नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए । सञ्चारकर्मी लामिछानेले सिधा कुरा.. ग्यालेक्सी फोरके सार्वजनिक गर्दै नयाँ कार्यक्रम सार्वजनिक गरेका हुन् ।

आफूले सिधा कुरा प्रधानमन्त्रीसँगबाट शुरु गर्दै सिधा कुरा जनतासँग पुगेको भन्दै उनले अब सिधा कुरा राखिएको र आवश्यकता अनुसार यसलाई पूर्णता दिने बताए । त्यस्तै उनले ‘द लिडर’ कार्यक्रम पनि सञ्चालन गर्ने छन् । यो कार्यक्रमका लागि केही समय प्रतिक्षा गर्नुपर्ने बताए । ‘सिधा कुरा…’को पछाडि केही शब्द जोडेर नयाँ कार्यक्रम ल्याउने तयारी गरिएको जनाइएको छ ।

जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनको भनाई छ । यो टेलिभिजन सञ्चालक कम्पनी गोर्खा मिडिया नेटवर्क प्रालि ग्यालेक्सी फोरके’ को अध्यक्षमा जेबी राई छन् । उपाध्यक्षमा छबिलाल बन्जाडे जोशी र निर्देशकमा शम्भु गुरागाईँ रहेका छन् । टिभीको क्रिएटिभ निर्देशकमा विवेक आचार्य रहेका छन् ।

  

‘ग्यालेक्सी फोरके’ नामको टेलिभिजनमा विभिन्न कार्यक्रमहरुको सार्वजनिक गरिएको छ । जसमा केही फ्रेन्चाइ कार्यक्रमहरु रहेका छन् । भारतीय टेलिभिजनमा चर्चामा रहेको क्राइम पेट्रोल नेपालीमा आउने भएको छ । उक्त कार्यक्रम हास्यकलाकार तथा अभिनेता दिपकराज गिरीले सञ्चालन गर्ने छन् ।

त्यस्तै टेलिभिजनले रामायण प्रसारण गर्ने छ जुन नेपालीमा हुने जनाइएको छ । राजेश हमालले को बन्छ करोडपति कार्यक्रम सञ्चालन गर्नेछन् भने इन्दिरा जोशी, कालीप्रसाद बाँस्कोटा लगायत सारेगमपा लिटिल च्याम्पमा देखिने छन् । रमेश प्रसाईले लालमोहर लिएर आउने छन् भने महाविर पुनले पनि एउटा कार्यक्रम सञ्चालन गर्ने छन् ।

त्यस्तै पत्रकार विजय कुमारले सम्बन्ध नामक कार्यक्रम सञ्चालन गर्ने छन् । उक्त टेलिभिजन आगामी बैशाखसम्ममा लञ्च गर्ने तयारी रहेको जनाइएको छ । ग्यालेक्सी फोरकेमा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लाल मोहर, सिधा कुरा…, आविष्कारलगायत कार्यक्रम आउने भएको छ ।

प्रतिक्रिया