नेपाल–अमेरिका संसदीय मैत्री समूह गठन तयारी

admin

काठमाडौँ, १० मङ्सिर : सभामुख कृष्णबहादुर महरासँग यहाँस्थित अमेरिकी राजदूत ¥यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको द्विपक्षीय भेटमा नेपाल–अमेरिका बीचको सम्बन्ध, आपसी हित, सहकार्य र संसदीय मैत्री समूह गठनलगायत विषयमा छलफल भएको छ ।

सो अवसरमा सभामुख महराले राजदूत बेरीको कार्यकाल सुखद र कूटनीतिक हिसाबले सफल रहने विश्वास व्यक्त गर्दै नेपाल र अमेरिकाबीचको सम्बन्ध पुरानो र सौहाद्रपूर्ण रहेको बताउनुभएको सभामुख महराका सञ्चार संयोजक डिल्ली मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उहाँले दुई देशबीचको संसदीय सम्बन्धलाई प्रगाढ बनाउन ‘संसदीय मैत्री समूह गठन’को तयारी भइराखेको उल्लेख गर्दै यस्ता समूहले संसदीय अभ्यास, अनुभव र प्रचलन सिक्ने मात्रै नभई राजनीतिक सम्बन्ध पनि प्रगाढ बनाउने बताउनुभयो ।

सभामुख महराले राजनीतिक स्थायित्व भई नेपाल अहिले आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहेको चर्चा गर्दै वैदेशिक लगानी भित्र्याएर देशको समग्र विकासमा धेरै लाभ लिन सकिने धारणा व्यक्त गर्नुभयो । भेटमा राजदूत बेरीले नेपालमा आफू पहिले केही वर्ष बस्ने मौका पाएको र अहिले राजदूतका रुपमा आउन पाउँदा निकै खुशी लागेको चर्चा गर्दै नेपालमा राजनीतिक स्थिरता कायम भएसँगै लगानीको वातावरण बन्दै गएकोमा अमेरिकी सरकार खुशी भएको बताउनुभयो ।

नेपालको समग्र विकासका लागि पूर्वाधारका क्षेत्रमा अमेरिकाले मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) मार्फत लगानी गर्न लागिरहेको उल्लेख गर्दै उहाँले यसका लागि सरकारसँग सम्झौता भइसकेको जानकारी दिनुभयो । राजदूत बेरीले एमसिसीको सफलता वैदेशिक लगानीका लागि नेपालको सफलताको सूचकका रुपमा रहने उल्लेख गर्दै यसको सफलताका लागि सबै पक्षको सकारात्मक अपेक्षा गरेको बताउनुभएको विज्ञप्तिमा उल्लेख छ ।

छलफलमा सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराई, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सङ्घीय सचिवालयका सचिव डा भरतराज गौतम लगायतको उपस्थिति रहेको थियो । यसैगरी सभामुख महरासँग यहाँस्थित प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत किम योङ हकले पनि आजै उहाँको कार्यकक्षमा भेटवार्ता गर्नुभयो ।

भेटमा नेपाल र कोरिया बीचको सम्बन्ध, आपसी सहयोग, सहकार्य र संसदीय मैत्री समूह गठन लगायतका विषयमा छलफल भएको थियो । सो अवसरमा सभामुख महराले नेपालको चारवर्षे कार्यकाल सफल रुपमा बिताएकामा राजदूत हकलाई बधाई दिनुभएको सभामुख महराका सञ्चार संयोजक डिल्ली मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कोरियाली प्रायद्वीपमा पछिल्लो चरण भएको शान्तिपूर्ण कदमको प्रशंसा गर्दै उहाँले विश्वशान्तिका लागि उक्त परिघटना ठूलो भएको बताउनुभयो । सभामुख महराले नेपाल–कोरिया संसदीय मैत्री समूह छिट्टै गठन गर्ने उल्लेख गर्दै मैत्री समूह गठनले दुई देशको सम्बन्ध विस्तारमा थप योगदान पुग्नुका साथै एकअर्काको अनुभव आदानप्रदानमा पनि महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा राजदूत हकले आफू नेपालमा चार वर्ष नौ महीना पूर्णतः सफलतापूर्वक बिताएको बताउँदै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गरेकोमा सभामुखसहित सबै नेपालीलाई धन्यवाद व्यक्त गर्नुभयो । ‘आफ्नो देशमा कोरिया–नेपाल संसदीय मैत्री समूह’ गठन गरिसकेको जानकारी गराउँदै उहाँले नेपालले पनि छिट्टै संसदीय मैत्री समूह गठन गर्ने आशा व्यक्त गर्नुभयो । भेटवार्तामा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सङ्घीय सचिवालयका सचिव डा भरतराज गौतम लगायतको उपस्थिति थियो ।
-रासस

प्रतिक्रिया