पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खस्किदो लोकप्रियता र छवि सुधार्न ईश्वरकी छोरीबाट आशिर्वाद लिनुको साटो निर्मला पन्तका बलात्कारी र हत्यारा पत्ता लगाउन सुझाव दिएका छन्।
उनले निर्मलाका हत्यारा पत्ता लगाउन प्रमाण मेटाउनेहरूलाई केरकार गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले प्रधानमन्त्रीलाई सानो सुझाव भनेर लेखेका छन्- प्रमलाई सानो सुझाव-आफ्नो खस्कदै गएको लोकप्रियता र छवि सुधार्न ‘ईश्वर’का छोरीबाट आशिर्वाद, पोलपोलमा आफ्नै फोटो सट्टा अहिले प्रत्येक नेपालीको हृदयमा गडेकी जनताकी छोरी निर्मला पन्तका बलात्कारी-हत्यारा छिटो सार्वजनिक गर्नोस् न! प्रमाण मेटाउनेलाई दुई घन्टा केरकार गरे अरू झन्झटै पर्दैन!
प्रमलाई सानो सुझाव-आफ्नो खस्कदै गएको लोकप्रियता र छवी सुधार्न ‘ईश्वर’का छोरीबाट आशिर्वाद,पोलपोलमा आफ्नै फोटो सट्टा अहिले प्रत्येक नेपालीको हृदयमा गडेकी जनताकी छोरी निर्मला पन्तका बलात्कारी-हत्यारा छिटो सार्वजनिक गर्नोस् न! प्रमाण मेटाउनेलाई दुइ घण्टा केरकार गरे अरू झन्झटै पर्दैन! pic.twitter.com/YVl5BMF0HR
— Baburam Bhattarai (@brb1954) December 3, 2018
सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ हुनुभन्दा अघिल्लो दिन प्रधानमन्त्री ओलीका तस्बिर भएका पोस्टर राजधानीका पोल पोलमा टाँसिएका थिए।
प्रधानमन्त्री ओलीले सरकार देखेनौं भन्नेहरूका लागि देखाउन तामझाम गरिएको बताएका थिए। अर्को दिन बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिकालाई न्याय नपाइएको भन्दै उनका पोस्टर टाँस्न खोज्दा अभियन्तालाई प्रहरीले पक्रेको थियो।
एक इसाई धर्म प्रचारक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आयोजनामा शनिबार सुरू भएको एसिया प्यासेफिक समिटमा सरकारको भूमिकाबारे पनि आलोचना भइरहेको छ।