घर जान निस्केकाहरू दुई दिनदेखि बालकुमारीमा गाडीभित्रै अलपत्र

admin

काठमाडाैं, १८ वैशाख : लकडाउन लम्बिँदै जाँदा काठमाडौंमा खान–बस्न समस्या भएपछि घर जान निस्किएका पूर्वका ५० नागरिक दुई दिनदेखि ललितपुरको बालकुमारीमा गाडीभित्रै अलपत्र परेका छन् । उपत्यकाका विभिन्न क्षेत्रबाट घन्टौँ हिँडेर बालकुमारीमा जम्मा भएका उनीहरू प्रहरीले गाडी छुट्न नदिएपछि बिलखबन्धमा परेका हुन् ।

उदयपुरको बेलका नगरपालिकाले पास दिएर पठाएको गाडी मंगलबार साँझ काठमाडौंबाट यात्रु लैजाने योजनामा थियो । सूचनाअनुसार विभिन्न जिल्लाका यात्रु बालकुमारीमा जम्मा भए । तर, प्रहरीले रोकिदिएपछि बुधबार रातिसम्म वृद्धवृद्धादेखि बालबालिकासम्म भोकभोकै गाडीभित्रै छन् ।

गठ्ठाघर बस्ने भोजपुरकी शान्ता तामाङ उदयपुरसम्म गाडी जान्छ भन्ने थाहा पाएपछि मंगलबार बिहानै बालकुमारी पुगेकी थिइन् । चतरासम्म गाडीमा जान पाए त्यहाँबाट हिँडेर घर पुग्ने हिसाब उनको थियो । तर, प्रहरीले रोकेपछि दुई दिनदेखि शान्ता गाडीभित्रै छिन् । ‘गाडीमै बसेको दुई दिन भयो, खाने–पिउने केही छैन,’ उनले भनिन्, ‘रातभर मच्छडले टोकेर हैरान पार्‍यो ।’

शान्ताका श्रीमान् ज्यामी काम गर्थे । ६ हजारमा दुई कोठा भाडामा लिएर बसेका थिए । तर, लकडाउनपछि काम बन्द भयो । हप्ता बित्यो, महिना बित्यो, कोठामा चामल, ग्यास, नुन, भुटन सबै सकिन थाल्यो । काखमा एक वर्षको बच्चा भएका उनीहरू अनिश्चित लकडाउन खुल्ने बाटो हेरेर पार नलाग्ने निष्कर्षमा पुगे । अनि गाउँतिर पाइला सोझ्याएका हुन् ।

‘आफू त जेनतेन बाँचिएला । यो नानीलाइै के खुवाउने मैले ? मेरो दूध आउँदैन, पैसा हुँदा त ल्याक्टोजिन खुवाउँथ्यौँ,’ शान्ताले पीडा पोखिन्, ‘आज पनि बिहानदेखि केही खान पाएको छैन । झन् अलपत्र पो परियो । घर जान पाइएन भने त मेरो नानीलाई के खुवाएर बचाउनु ?’

शान्तासँगै बालकुमारीमा गाडीभित्र अलपत्र पर्नेहरू झापा, उदयपुर र भोजपुरकै बढी छन् । काठमाडौंमा स्वास्थ्य उपचारका लागि आएकी भोजपुरकै ६० वर्षीया सुजमाया राई पनि गाडीमा भेटिइन् ।

लकडाउनले डेढ महिनादेखि राजधानीमा थुनिएकी उनी घर जान पाउने आसमा स्वयम्भूबाट सकी–नसकी हिँडेर बालकुमारी आइपुगिन् । तर, गाडी नगुडेपछि निराश छिन् । किरण दाहालले नयाँ पत्रिका दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया