रातो मच्छिन्द्रनाथलाई पाटनको तःबहाल ल्याइयो

admin

काठमाडौं, मंसिर २४ : कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण छोट्याएर गरिएको रथजात्रापछि ललितपुरको पुल्चोकबाट बुङ्गमतीमा लगिएको रातो मच्छिन्द्रनाथलाई पाटनको तःबहालमा ल्याइएको छ ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बुधबार दिउँसो बुङ्गमतीबाट खटमा राखेर पाटन ल्याइएको हो । १२ वर्षको जात्राबाहेक मच्छिन्द्रनाथलाई हरेक वर्ष ६ महिना बुङ्गमतीमा र ६ महिना पाटनमा राखिने गरिन्छ ।

तर यसपालि ढिलो गरी रथजात्रा सम्पन्न भएको कारण गएको भदौ २९ गतेमात्र बुङ्गमती लगिएकोमा तीन महिनामात्र त्यहाँ राखेर बधुबार पाटन ल्याइएको हो । गएको मङ्सिर १८ गते ज्योतिषीहरूले मच्छिन्द्रनाथलाई पाटनमा ल्याउनको लागि बुधबारकाे साइत निकालेका हुन्।

मच्छिन्द्रनाथलाई पाटन ल्याउनका लागि विभिन्न खालको तयारी हुने गर्दछ । देवताको आवरण फेर्ने, शृङ्गार गर्ने लगायतका काम गरिन्छ । त्यस्तै बिहान कर्ता, जजमान, पानेजु मिलेर मच्छिन्द्रनाथको विधिपूर्वक पूजा गर्ने परम्परा छ ।

पूजा सकेपछि बुङ्गमतीको मुख्य बाटोबाट नै देवतालाई खटमा बोकेर ल्याइन्छ भने पाटनको तःबहालको पश्चिम ढोकाबाट देवता भित्र्याइने गरिन्छ।

प्रतिक्रिया