अमेरिकामा पनि देखियो कोरोना भाइरसको नयाँ प्रकार

admin

काठमाडौं, १५ पुस : कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि पुष्टि भएको छ । बेलायतमा पहिलोपटक भेटिएको भनिएको भाइरसको नयाँ प्रकार अमेरिकाको कोलराडो राज्यमा फेला परेको पुष्टि भएको हो । बिरामी परेका २० वर्षका एक युवा अहिले आइसोलेशनमा रहेका छन् । गत हप्ता अमेरिकी स्वास्थ्य अधिकारीहरूले यो नयाँ भाइरस भेरियन्ट अमेरिकामा आइसकेको हुनसक्ने शंका गरेका थियो ।

नयाँ प्रकारको कोरोना भाइरस भारत, क्यानडा, जापान, स्पेन, स्वीडेन, फ्रान्स, बेलायतलगायत धेरै देशहरुमा पुष्टि भइसकेको छ । यो नयाँ प्रकारको कोरोना भाइरस पुरानोभन्दा धेरै संक्रामक रहेको ठानिए पनि थप घातक भने नभएको विज्ञहरूले बताउने गरेका छन् ।

यसैबीच, नयाँ किसिमको भाइरसबाट हुने समस्या पुरानोको तुलनामा गम्भीर नरहेको बेलायतका वैज्ञानिकहरुले दाबी गरेका छन् । नयाँ किसिमको भाइरस एकदमै छिटो फैलिने भए पनि त्यसमा पुरानो भाइरसमा भएजस्तै गुणहरू भएको पब्लिक हेल्थ इङ्ल्याण्डले गरेको अनुसन्धानले देखाएको छ ।

नयाँ प्रकारको कोरोना संक्रमण भएका १ हजार ७ सय मानिसमा अध्ययन गर्दा नयाँ प्रकारको कोरोना भाइरसले पुरानोको जत्तिनै असर गर्ने देखिएको नयाँ प्रकारका भाइरसको अनुसन्धानमा खटिएका वैज्ञानिकहरूले बताएका छन् ।

अहिले, विकसित गरिएका खोपहरु नयाँ प्रकारको भाइरस विरुद्ध पनि प्रभावकारी हुने अनुसन्धानकर्ताहरुले जनाएका छन् । बेलायतमा पहिलो पटक देखिएको नयाँ भाइरस अन्य देशमा देखिन थालेपछि विभिन्न देशले उच्च सतर्कता र लकडाउनसमेत गरेका छन् ।

प्रतिक्रिया