भटमासको तेलको निर्यात २९० प्रतिशतले बढ्यो

admin

काठमाडौं, माघ १९ : चालू आर्थिक वर्ष (आव)को पहिलो ६ महीनामा भटमासको तेलको निर्यात २९० प्रतिशतले वृद्धि भएको छ ।

नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी)का अनुसार यस अवधिमा नेपालबाट रू. १७ अर्बको भटमासको तेल निर्यात भएको छ । अघिल्लो वर्षको यही अवधिमा नेपालले रू. ४ अर्बको भटमासको तेल निर्यात गरेको थियो ।

यस अवधिमा अघिल्लो वर्ष शीर्षस्थानमा रहेको पाम तेलको निर्यात भने २७औं नम्बरमा पुगेको छ । अघिल्लो आवको पहिलो ६ महीनामा रू. १३ अर्ब ८९ करोडको पाम तेल निर्यात भएकोमा चालू आवको सोही अवधिमा रू. ४ लाखको मात्रै निर्यात भएको छ ।

पाम तेलको निर्यात आव २०७५/७६ को शुरूदेखि नै बढ्दै गएको थियो । अघिल्लो वर्ष पुस अन्तिम साता भारतले कुल निर्यातको करीब २४ प्रतिशतसम्म अंश रहेको पामको निर्यातमा भारतले प्रतिबन्ध लगाएको थियो । नेपालका लागि पाम र भटमासको तेलको बजार भारत हो ।

नेपाली व्यवसायीहरूले तेस्रो मुलुकबाट कच्चा पाम आयलको आयात गरी प्रशोधन गरी भारततर्फ निर्यात गर्ने गरेका थिए ।भारतले प्रतिबन्ध लगाएपछि व्यवसायीहरूले पामको सट्टा भटमासको तेलको उद्योगमा भटमासको तेलको उत्पादन गर्न शुरू गरेका हुन् ।

भारतले प्रतिबन्ध लगाउनुअघि वीरगञ्ज र विराटनगर गरी १८ ओटा उद्योगबाट व्यवसायीले ८० प्रतिशतसम्म पाम र बाँकी भटमासको तेल उत्पादन गर्ने गरेका थिए । भारतले प्रतिबन्ध लगाएपछि व्यवसायीले पामको विकल्पको रूपमा भटमासको तेललाई अघि सारेका हुन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा काशीराम बजगाईंले लेखेका छन् ।

प्रतिक्रिया