ललितपुरको पाटन ढोकामा दशकौंदेखि सञ्चालन हुँदै आएको ‘बसपार्क’ हटाएर अब ‘बसस्टप’ मात्र

admin

ललितपुर, ९ फागुन : ललितपुरको ऐतिहासिक क्षेत्र पाटन ढोकामा दशकौंदेखि सञ्चालन हुँदै आएको बसपार्कलाई ललितपुर महानगरपालिकाले हटाएको छ । बसपार्क हटाइएको सो स्थानमा आइतबारदेखि बस स्टप कायम गरिएको छ । त्यहाँ यात्रु ओराल्ने र चढाउने प्रयोजनका लागिमात्र अब सार्वजनिक बस रोकिने महानगरपालिकाका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिएका छन् ।

महानगर प्रमुख चिरीबाबु महर्जनले नगर क्षेत्रभित्र सडक दुर्घटना न्यूनीकरण र सवारी आवागमन सुव्यवस्थित गर्न निर्देशन दिएसँगै नगर प्रहरीको अगुवाई तथा महानगरीय ट्राफिक प्रहरी महाशाखा, पाटन ढोका बस व्यवसायी प्रालि, शान्ति युवा क्लव, निखा बहाल टोल, ननि टोल सुधार समितिको सहयोगमा पाटन ढोका क्षेत्रबाट बसपार्क हटाइएको हाछेथुको भनाइ छ । बस पार्क कायम रहँदा सो क्षेत्रमा फोहोर, दुर्गन्ध तथा ध्वनि एवं वायु प्रदुषणसमेत बढेको उनले बताए ।

उनका अनुसार तीन दशकअघि कायम भएको बसपार्क अहिलेको परिस्थितिमा सो क्षेत्रमा अनुपयुक्त भएकाले हटाइएको हो । ‘उतिबेला थोरै संख्यामा सवारी साधन सञ्चालन हुन्थे, त्यो अवस्थामा मुख्य सडकमै बसपार्क रहँदा पनि खासै समस्या थिएन तर अहिले त्यस्तो अवस्था छैन,’ उनले भने, ‘अहिले पिक आवरमा प्रतिमिनेट २३ वटा चार पाङ्ग्रे सवारी साधन र ३८ वटा मोटरसाइकल उक्त सडकमा गुड्छन् । पैदल यात्रीको संख्या पनि उल्लेख्य हुन्छ ।’

पाटन ढोकामा बसपार्क सञ्चालन हुँदा सो क्षेत्र आसपास रहेका विद्यालय, कलेज तथा उक्त क्षेत्रको अवलोकन भ्रमणमा आउने पर्यटकलाई समेत ध्वनि प्रदुषण तथा वायु प्रदुषणले सकस हुने गरेको उनले बताए । नियमअनुसार मुख्य सडकबाट तीन सय मिटरभित्रतर्फ बसपार्क हुनुपर्ने भए पनि पाटन ढोकामा मुख्य सडकमै बसपार्क रहेका कारण त्यसको विकल्प खोज्नुपर्ने अवस्था आएको तर्क गर्दै उनले भने, ‘त्यहाँको बसपार्क हटाएर अहिलेका लागि एकै समयमा बढीमा दुईवटा बस रहने गरी बस स्टप बनाउने निर्णय गरिएका हो ।’

यो व्यवस्थाले पाटन ढोका अवलोकन भ्रमणमा आउने पर्यटकहरुलाई सुविधा पुग्ने उनको भनाइ छ । ‘पर्यटक बस, पर्यटकहरुले ल्याएका कार, मोटरसाइकल पार्किङका लागि सो क्षेत्र प्रयोग गरिनेछ,’ उनले भने, ‘ऐतिहासिक सम्पदाक्षेत्र भ्रमणका आउने पर्यटकले यसबाट सुविधाको अनुभूति गर्न पाउने अपेक्षा महानगरले लिएको छ ।’

प्रतिक्रिया