भारतसँगका १४ नाकामा कडाइ, भारतका केही ठाउँमा लकडाउन घोषणा

admin

काठमाडौं, ८ चैत्र : पुनः कोरोना भाइरसको जोखिम बढेपछि सरकारले भारतसँग सीमा जोडिएका नाकामा निगरानी बढाएको छ । त्यहाँ हेल्थ डेस्कको संख्या बढाएको र आवश्यक कर्मचारी पनि खटाइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

सीमा क्षेत्रको मुख्य नाकामा निगरानीलाई बढाइएको उनले बताए । भारतको महाराष्ट्र, गुजरातलगायतका राज्यमा कोरोनाको संक्रमण दर फेरि तीव्र गतिमा फैलिएकाले त्यहाँ कार्यरत केही नेपाली गाउँघर फर्किन थालेका छन् ।

यसले संक्रमण नेपालमा पनि भित्रिन सक्ने जोखिम बढेकाले घर फर्किनेहरूको नाकामा नै परीक्षण गर्ने तयारी गरिएको हो । मुख्यगरी भारतसँगका १४ नाकामा निगरानी बढाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

गड्डाचौकी, गौरीफन्टा, बेलहिया, कृष्णनगर, जमुना नाकालगायतमा कडा निगरानीसहित एन्टिजेन परीक्षण नै गर्ने तयारी भएको उनले जानकारी दिए । सीमानाकालाई थप व्यवस्थित बनाउन (आज) आइतबार स्थानीय सरकारसहित सम्बन्धित निकायलाई पत्राचार गरिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले बताए ।

यस्तै, कोरोना भाइरसको नियन्त्रणका लागि भारतबाट फर्किएका नेपालीलाई १४ दिन घरभित्रै क्वरेण्टीनमा बस्न आग्रह गरिएको छ । यसबीचमा ठूलाठूला सभा आयोजना भएकाले अब यस्ता सभा सम्मेलन रोक्ने तयारी पनि गरिएको छ ।

कोरोनाको जोखिम फेरि बढेकाले भीडभाड कम गर्न, अनिवार्य मास्क लगाउन, बेलाबेलामा साबुनपानीले हात धुन र भौतिक दूरी कायम गर्न विज्ञले सुझाव दिएका छन् । कोरोना संक्रमण फैलिएसँगै भारतका केही ठाउँमा लकडाउन घोषणा गरिएको छ ।

प्रतिक्रिया