नेपालमा एक लाख १७ हजार क्षयरोगी

admin

काठमाडौं, १५ चैत : सरकारी आँकडाअनुसार वार्षिक हजारौँ नयाँ क्षयरोगी भेटिने गर्छन् । यति धेरै सङ्ख्यामा क्षयरोगी थपिँदा समेत क्षयरोगी चिन्न गाह्रो हुन्छ । समाजको डरले उसले रोग लुकाएर राखेको हुन्छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. अनुज भट्टचनले अझै पनि समाजले क्षयरोगीलाई हेर्ने दृष्टिकोण पुरानै रहेको बताए ।

समाजमा तिरस्कृत हुने डरले क्षयरोगी खुल्न नसकेको जानकारी दिँदै रोगीलाई हेर्ने समाजको दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने उनी बताउँछन् । नेपालमा प्रत्येक वर्ष करिब ६९ हजार जना नयाँ क्षयरोगी थपिने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका निर्देशक डा. भट्टचनले हाल देशमा नयाँ तथा पुराना गरी करिब एक लाख १७ हजार क्षयरोगी रहेको अनुमान गरिएको बताए । करिब ४१ हजार क्षयरोगी पत्ता लाग्न नसकेको जानकारी उनले दिए। क्षयरोग सर्वेक्षणअनुसार हाल नेपालमा निजी स्वास्थ्य संस्थामा क्षयरोगको निदान नौ प्रतिशत र उपचार गराउने १५ प्रतिशत रहेको अनुमान गरिएको छ ।

अहिले चार हजार ९५५ उपचार केन्द्रबाट डट्स उपचार सेवा, ७६५ प्रयोगशाला र ७२ जिनएक्स्पर्ट केन्द्र एवं दुईवटा राष्ट्रिय प्रेषण प्रयोगशालाबाट क्षयरोग निदान सेवा प्रदान गरिँदै आइरहेको उनले बताए । यसैगरी प्रतिरोधी औषधिबाट उपचार गर्ने २२ उपचार केन्द्र, ८१ उपचार उपकेन्द्र, छ डीआर होस्टल, एकवटा डीआर होम छन् ।

गत वर्षको तथ्याङ्कअनुसार औषधि प्रतिरोधी क्षयरोगका ३८४ जना बिरामी अर्थात् करिब १७ प्रतिशत मात्रै उपचारको दायरामा आएका थिए ।निर्देशक भट्टचनका अनुसार सरकारले दिगो विकास लक्ष्यलाई पछ्याउँदै सन् २०३० मा क्षयरोगमुक्त देश बनाउने योजना भने जारी नै राखेको जानकारी गराए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया