बर्मेली सुन्दरीको भाषण : ‘आज मेरो देश म्यानमारमा…मेरो देशको जेल मलाई कुरिरहेको छ रे’

admin

एजेन्सी, २५ चैत : गत साता सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीको भाषणले तमाम राजनीतिक घटनालाई पछि पार्दै गनेमानेका अन्तर्राष्ट्रिय मिडियामा स्थान ओगटेको छ । मिस ग्रान्ड म्यानमार ह्यान ले (Han Lay)ले देशमा सेनाको कथित् अत्याचारविरुद्ध बोलेका कुराले संसारकै ध्यान खिचेको पाइएको हो ।

‘आज मेरो देश म्यानमारमा…कैयौँ मानिस मारिइरहेका छन्’, थाइल्याण्डमा भएको मिस ग्रान्ड इन्टरनेसनल २०२० समारोहमा ह्यान ले भनिन्, ‘कृपया म्यानमारलाई मद्दत गरिदिनोस्, हामीलाई अन्तर्राष्ट्रिय समुदायको सहयोग तत्कालै चाहिएको छ ।’ त्यो समारोहभन्दा करिब एक महिनाअघि २२ वर्षीया ह्यान म्यानमारको सबैभन्दा ठूलो शहर यङ्गोनको सडकमा ‘सैन्य कू’को विरोध गरिरहेकी थिइन् ।

ह्यान ले यङ्गोन विश्वविद्यालयमा मनोविज्ञानकी छात्रा हुन् । उनले आफ्नो मातृभूमिबारे अन्तर्राष्ट्रियस्तरमा कुरा गर्ने निधो गरेकी छिन् । यसका लागि उनले सौन्दर्य प्रतियोगिताको मञ्च चुनिन् । ‘म्यानमारमा पत्रकारहरूलाई हि’रासतमा लिइएको छ । त्यसैले आफ्नो देशमा जे भइरहेको छ, त्यसको विरोधमा आवाज उठाउने निधो गरेँ’, बीबीसीसितको फोन संवादमा उनले भनेकी छिन् ।

दुई मिनेटको भाषणलाई लिएर देशको सेनाले आफूलाई निशाना बनाउनेमा उनलाई डर छ । त्यसैले तीन महिनासम्म आफू थाइल्याण्डमै बस्ने ह्यानले बताइन् । आफू खतराउन्मुख भएको प्रति उनी थाइल्याण्ड आउनुअघि नै सचेत थिइन् । उनले सोचिसकेकी थिइन्, आफू केही समय देशबाहिरै रहनुपर्ने हुन सक्छ ।

‘मलाई आफूसहित परिवारको सुरक्षाबारे चिन्ता छ । मैले सेना र देशको वर्तमान स्थितिबारे थुप्रै कुरा बोलेकी छु । म्यानमारमा सेनाबारे कुरा गर्न सबैलाई आफ्नो सीमा थाहा छ’, उनले भनिन्, ‘मेरा साथीहरू मलाई म्यानमार नफर्किन भनिरहेका छन् ।’

ह्यानको चिन्ता बिनाकारणको भने होइन । गत साता सुरक्षा बलले सेलिब्रेटी, सामाजिक सञ्जालका प्रभावशाली व्यक्ति र दुई पत्रकारसहित १८ जनालाई गिरफ्तारीका लागि पक्राउ पुर्जी जारी गरेको थियो । जजसको विरुद्ध ‘अरेस्ट वारेन्ट’ जारी भएको थियो, सबैले सैन्य कूविरुद्ध लेखेका थिए । भाषणपछि सेना वा अरु कोही सरकारी अधिकारीले आफूलाई सम्पर्क भने नगरेको ह्यानले बताइन् ।

यद्यपि, सामाजिक सञ्जालमा उनलाई धम्कीपूर्ण कमेन्टचाहिँ आइरहेका छन् ।सामाजिक सञ्जालमा मानिसहरूले मलाई धम्की दिइरहेका छन् । म्यानमारको जेल म फर्किने दिन कुरिरहेको उनीहरू बताउँदै छन्’, उनले भनिन् । यस्ता धम्कीको पछाडि को छ, यसबारे उनी अनभिज्ञ छिन् । उनका अनुसार सामाजिक सञ्जालमा उनको भाषणको समर्थनमा पनि कमेन्ट आइरहेका छन् । आफूसँगै विरोध प्रदर्शनमा सहभागी केही विद्यार्थी अहिले जेलमा रहेको ह्यानले बताइन् ।

कार्यकर्ताहरूको समूह असिस्टेन्स एसोसिएसन फर पोलिटिक प्रिजनर (एएपीपी)का अनुसार सैन्य कुपछि कम्तिमा २ हजार ५ सय मानिस गिरफ्तार भएका छन् । ह्यानले आफ्ना एक साथीको मृत्यु भएको बताइन् । ‘ऊ त विरोध प्रदर्शनमा सहभागी पनि थिएन । कफी पिउन एक रेस्टुरेन्टमा गएको थियो, तर उसलाई गोली हानेर मारिदिए’, उनले भनिन् । हालसम्म उनको परिवार सुरक्षित नै छ । तर, अहिले म्यानमारमा इन्टरनेट राम्रो नभएकाले परिवारजनसँग सम्पर्क गर्न गाह्रो परिरहेको उनले बताइन् ।

उनले बीबीसीसँग आग्रह गरिन्, ‘मेरो परिवारको सुरक्षाका लागि म बस्ने शहरको नाम नछापिदिनुहोला ।’ सौन्दर्य प्रतियोगितामा भाग लिएकाहरू अक्सर राजनीतिक टिकाटिप्पणीसँग बच्छन् । तर, ह्यानले यो सार्वजनिक मञ्चबाट राजनीतिक बयान मात्र दिएकी छैनन्, म्यानमारको सेनाको चर्को आलोचनासमेत गरेकी छन् । साथै उनले ‘विन द रिभोलुसन’ (क्रान्ति जित्न) प्रतियोगिताको आधिकारिक च्यानलमा फ्यान्ससँग अन्तर्वार्ताका लागि आग्रह पनि गरेकी छन् । प्रतियोगिताभन्दा पहिला मिस ग्रान्ड कम्बोडिया लीव चिलीले आफ्ना समर्थकसँग भनेकी थिइन्, ‘तपाईंहरू राजनीतिबाट टाढै रहनुहोला ।’

तर, ह्यान देशको हालतबारे आवाज उठाउनुलाई आफ्नो कर्तव्य ठान्छिन् । उनी आङ सान सू चीलाई आफ्नो सबैभन्दा ठूलो प्रेरणा मान्छिन् । गत साता म्यानमारको सेनाले सू चीमाथि देशको आधिकारिक गोप्य ऐनको उल्लंघन गरेको आरोप लगाएको थियो । यो आरोप पुष्टि भए कम्तीमा १४ वर्षको सजाय सुनाइन सक्छ । ह्यानले पहिला ग्र्याजुएसनको पढाइ पूरा गरेपछि फ्लाइट अन्टेडेन्ट को तालिम गर्ने योजना बनाएकी थिइन् । तर, अब उनी कुन बाटो अँगाल्ने, अन्योलमा छिन् । कतिपय मानिसले उनलाई सक्रिय राजनीतिमा आउन भनिरहेका छन् ।

तर, उनी राजनीतिमा आफूले केही गर्न सकूँला भन्नेमा विश्वस्त छैनन् । अहिलेका लागि आफ्नो देशको हालतबारे आवाज उठाइरहने प्रण उनले गरेकी छन् । ‘यो मानवताविरुद्धको अपराध हो । त्यसैले हामी चाहन्छौँ, यो मामिलामा संयुक्त राष्ट्र संघले हस्तक्षेप गरोस्’, उनले भनिन्, ‘हामीलाई हाम्रो नेता फिर्ता चाहियो, अनि हामी वास्तविक प्रजातन्त्र चाहन्छौँ ।’

दुई महिनाअघि सेनाले जननिर्वाचित नेत्री आङ सान सू चीसहित प्रजातन्त्रवादी नेता र अन्य सयौँ मानिसलाई गिरफ्तार गरी सत्ता हत्याएदेखि म्यानमार अशान्त छ । सैन्य कूको विरोधमा सडकमा उत्रेका दसौँ हजार प्रदर्शनकारीलाई तितरबितर पार्न सेनाले पानीको फोहराले हान्यो । विरोध नरोकिएपछि सेना र प्रहरीले प्रदर्शनकारीमाथि रबरको गोली चलाउन थाले । प्रदर्शन अझै चर्किँदै गएपछि असली गोली चलाउन थालियो ।

गत शनिबार म्यानमारका लागि सबैभन्दा खराब दिन थियो, जुन दिन सयभन्दा बढी प्रदर्शनकारी मारिए । पछिल्लो गतिविधि नियालिरहेको स्थानीय एक समूहले दुई महिनायता जारी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ५ सयभन्दा बढी रहेको बताएको छ । सेभ द चिल्ड्रेनका अनुसार मारिएकामध्ये ४३ बालबालिका थिए ।

प्रतिक्रिया